काठमाडौँ, असोज ११ । दशैंको मौका छोपी बजारमा अहिले उपभोग्य समानको मुल्य अचाक्ली बढेको छ । खाद्यान्यदेखि लिएर लत्ताकपडासम्मको भाउ निक्कै बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २ सय ८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यवसायीले वर्षा र भारतमा मूल्यवृद्धि भएको कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रूपमा बढाएका हुन् ।
समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको बताउनु भयो । तर मूल्यवृद्धि हरियो सागमा मात्र नभएर अधिकांश तरकारीमा भएको छ । भदौ २० गते ४५ रुपैयाँमा बिक्री भएको भेडे खुर्सानीको मूल्य असोज १० मा २ सय ८९ प्रतिशतले बढेर होलसेलमै १ सय ७५ रुपैयाँ प्रतिकेजी पुगेको छ । बोडी (तने) को २ सय २७ प्रतिशतले बढेर ९८ रुपैयाँ पुगेको छ । मकै बोडीको मूल्य १ सय ५८ प्रतिशतले बढेर ९८ रुपैयाँ, घिउ सिमीमा १ सय ३८ प्रतिशत बढेर ९५ रुपैयाँ, तीते करेला १ सय ५८ प्रतिशतले बढेर ८५ रुपैयाँ पुगेको छ ।
यसैविच, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा उपभोक्तालाई मार पर्ने गरी अनावश्यक मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले वृद्धि भएको मूल्य शनिबारसम्म घटाएर उपभोक्तालाई राहत दिन व्यवसायीलाई आग्रह गर्नुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले व्यवसायीसँग छलफल भइरहेकाले शनिबारसम्म मासुको मूल्य पुरानै कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
दशैँको पूर्वसन्ध्यामा खसीको मासुको मूल्य एक सयदेखि दुई सय रुपियाँ वृद्धि भएर प्रतिकेजी एक हजार चार सय रुपियाँसम्म पुगेको छ । मासुको अभाव हुन नदिन तीन हजार खसी र च्याङ्ग्रा ल्याइएको जानकारी दिँदै मन्त्री यादवले मूल्य स्थिर नरहे अन्य उपभोग्य वस्तुजस्तै मन्त्रालयले मासु पनि आफैँ बिक्रीवितरण गर्ने बताउनुभयो । उहाँले विगतका वर्षहरूभन्दा यस वर्ष बजार अनुगमन झनै तीव्र बनाइएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अनुगमनको परम्परागत शैली परिवर्तन भएको छ, संयन्त्र सक्रिय छ । ”
प्रतिक्रिया दिनुहोस्