जनता टाइम्स

१३ आश्विन २०७६, सोमबार १४:४९

निशासाका हल्ला फैलाउनेहरु थाक्छन, सरकार समृद्धिको मार्गमा हिँडदा कहिल्यै थाक्दैन : प्रधानमन्त्री


काठमाडौं, असोज १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिरोधीहरु जति कराए पनि सरकार आफ्नो काममा कहिल्यै नथाक्ने घोषणा गर्नुभएको छ । ललितपुरको भैँसेपाटीमा आज आयोजित मुख्यमन्त्री आवास भवन निर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्नुभएको हो ।

वाक स्वतन्त्रताका नाममा जनतामा निराशा फैलाउने काम भएकोप्रति निन्ता गर्दै प्रधानमन्त्री ओलीले जस्ले जे दुश्प्रचार गरेपनि सरकार काममा कहिल्यै नथाक्ने प्रष्ट पार्नुभयो । ‘केही भएन भनेर असन्तुष्टि फैलाउने काम भइरहेको छ, यो पनि भएन, त्यो पनि भएन भनेर हल्ला फैलाउने प्रवृत्ति देखिएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘वाक स्वतन्त्रताको प्रयोग समुचित र स्वस्थ ढंगले हुनुपर्छ । जसरी पनि विरोध गर्ने सिलसिला चलेको छ, त्यस्ता सिलसिला चलाउनेहरू थाक्लान, विश्राम लेलान, तर सरकार अडिग र गतिशीलताका साथ जनतालाई सेवा दिने हिसाबले सुशासन कायम गर्दै अघि बढेको छ ।’

प्रधानमन्त्री ओलीले भएका–गरेका कामलाई नजरअन्दाज गर्दै यो पनि भएन, त्यो पनि भएन भनेर आलोचकहरुबाट हल्ला फैलाउने समुह नै रहेको खुलासा पनि गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौं आइपुग्न अव एक वर्ष पनि नलाग्ने बताउनु भयो । ‘मेलम्चीको खानेपानी छिट्टै नै आउँछ, अब एक वर्ष पनि लाग्दैन ।’