जनता टाइम्स

४ जेष्ठ २०८१, शुक्रबार २३:१०

कोशीका मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद विस्तार, पाँच मन्त्री र दुई राज्यमन्त्री थपिए


काठमाडौं, जेठ ४ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । यससँगै कोशीमा मन्त्रीमण्डल मुख्यमन्त्रीसहित १० सदस्यीय बनेको छ । नवनियुक्त पाँच मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबारै पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ र नवनियुक्त राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गराउनु भयो । एमालेबाट लीलावल्लभ अधिकारी, एकराज कार्की र पाँचकर्ण राई मन्त्री बनेका छन् भने एमालेकै सिर्जना राई राज्यमन्त्री बन्नुभएको छ ।

मन्त्रिपरिषद् विस्तारपछि रामबहादुर मगरले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन भने गणेश उप्रेतीले भौतिक पूर्वाधार विकास मन्त्रालय, लिलावल्लभ अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राजेन्द्रकुमार कार्कीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन।

त्यस्तै, एकराज कार्कीले खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालय, पाँचकर्ण राईले सामाजिक विकास मन्त्रालय, नारायण बुर्जामगरले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैँले राखेका छन। सिर्जना राई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्री नियुक्त भएका छन।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर मन्त्री बनेका छन भने बन्दना झाँगड राज्यमन्त्री बन्नुभएको छ । मन्त्रीमण्डल विस्तारपछि सञ्चारकर्मीसँग बोल्दै मुख्यमन्त्री कार्कीले अब प्रदेश सरकारले सुशासन र वार्षिक नीति–कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

संविधानको धारा १६८ (५) अनुसार अघिल्लो हप्ताको बिहीवार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले उपधारा ४ अनुसार वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो ।