जनता टाइम्स

४ जेष्ठ २०८१, शुक्रबार २३:५६

केपी ओलीको उदघोष : कांग्रेसका कारण देश ठप्प पार्न सकिन्न, अब उस्ले नमानेपनि संसद चलाउँछौं


पर्सा, जेठ ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले नमानेपनि अव संसद बैठक चलाइने उदघोष गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल गरी पारित गर्ने र बजेट ल्याउने काममा संझौता गर्न नसकिने बटमलाइन सुनाउँदै अध्यक्ष ओलीले संसद चलाउने उदघोष गर्नुभएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद अवरोध गरिरहेको छ । जस्को कारण राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न सकिएको छैन । उपप्रधान तथा गृहमन्त्री रबि लामिाछानेको बिरुद्धमा संसदमा एकोहोरो खनिएको कांग्रेसले सरकार ढाल्नका लागि यस्तो काम गरेका सार्वजनिक अभिब्यक्ति दिइसक्नुभएका एमाले अध्यक्ष ओलीले अव कांग्रेसले जे भन्यो, त्यही मानेर जान नसकिने बताउनु भयो ।

एमाले पर्साको नवौं पर्सा जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई आज वीरगञ्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसले नमानेपनि नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याइने बताउनुभयो ।

सत्तामा भएको बेला प्रतिपक्ष एमालेले जायज कुरा उठाएर विरोध गर्दा कांग्रेसले जबरजस्ती सदन चलाउने गरेको तर अहिले प्रतिपक्षमा हुँदा कांग्रेसले नै कुनै कारबाही अगाडि बढाउन नदिएको अध्यक्ष ओलीको बताउनु भयो ।

’कुनै कारबाही पनि चल्न नदिने भन्ने हुन सक्दैन, संसदसँग समय थोरै छ, नीति तथा कार्यक्रम पास गरिकन १५ गते बजेट पेस गर्नुछ, त्यसकारण कांग्रेसले मान्छ भने मान्छ, मान्दैन भने पनि अव हामी संसद चलाउँछौं,’ अध्यक्ष ओलीले भन्नुभयो । कांग्रेसका कारण देश ठप्प पार्न नसकिने पनि उहाँले प्रष्ट पार्नुभयो । ’नीति तथा कार्यक्रम पास गर्नैपर्छ, देशलाई बजेट दिनैपर्छ, देशै ठप्प पार्न सकिँदैन,’ ओलीले थप्नुभयो ।

संसद् भनेको कांग्रेसको आदेश मान्ने ठाउँ नभएको पनि उहाँले बताउनु भयो । अध्यक्ष ओलीले थप्नुभयो, ’कांग्रेसले फलानालाई बोल्न दिन्छु भन्दा दिने, दिन्न भन्दा नदिने कुरा हुन्न । कांग्रेसको घरबाट ल्याएको हो र संसद् ? जेजे भन्यो त्यहीत्यही गििरदिनु पर्ने ? त्यहीत्यही मान्दिनु पर्ने ?’

कांग्रेसले सदनमा जथाभावि बोलेको र गृहमन्त्रीलाई समेत बोल्न नदिएको बिषयमा नियत खरावको संज्ञा दिनुभयो । ’एउटा मान्छेलाई आरोप लगाउँछ, ममाथि लगाएको आरोपबारे बोल्छु संसद्मा भन्दा बोल्न दिँदैन, बोल्न पाइँदैन आयोग बनाउनु पर्छ भन्छ, आरोप लगाएपछि बोल्न पाइँदैन ? कसैले कसैलाई आरोप लगायो भने सभामा बोल्न पाइन्छ, सदनमा जथाभावि बोल्न पाइँदैन, आधारबिनाको आरोप लगाउन पाइँदैन, कांग्रेसलाई केही चाहिँदैन जथाभावि बोल्छ,’ उहाँको भनाई थियो ।

कांग्रेसलाई संसद् नचाहिए पनि एमालेलाई र सत्ता पक्षलाई संसद् चाहिने भन्दै उहाँले कांग्रेसले फैलाएका अफवाहलाई बेवास्ता गरेर सही बाटोमा अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो ।

’संसद कांग्रेसले चलाउन मान्नुपर्छ, मान्दैन भने, कांग्रेसले संसद नै चाहिँदैन भन्ला हामी मान्छौ त त्यो कुरा ?, केपी ओली संसद विघटन गर्ने ठाउँमा पुर्याउन खोज्दैछन भन्ला, हाउगुजी फिँजाएको छ, झुट बोलेको छ, बेइमानी कुरा गरेको छ । त्यस्ता कुरा पत्याएर हिँड्ने होइन हाम्रा साथीहरु,’ नेता कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो ।

कांग्रेसले देशको समय बर्बाद गरिरहेको बताउँदै अध्यक्ष ओलीले थप्नुभयो, ’कांग्रेसले देशको समय बर्बाद गरिरहेको छ, कानुन बनाउनुपर्ने, देश र जनाताका समस्या समाधान गर्नुपर्ने, लगानी सम्मेलन गरियो अबज लगानी कसरी ल्याउनुपर्ने भन्ने कुरामा काम गर्नुपर्ने, यी सबै कुरामा कांग्रेसलाई चिन्ता छैन, किसानले मल पायो कि पाएन हामीलाई चिन्ता छ ।’

एमाले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको मिसन, भिजन र गन्तव्य बोकेर अघि बढेको भन्दै उहाँले खुद्रा मसिना कुरामा अल्झिने समय नभएको बताउनुभयो ।अध्यक्ष ओलीले सरकारबाट हट्नुपर्दाको आक्रोश र कुण्ठामा कांग्रेस रुमल्लिएको र त्यही कुण्ठामा देशलाई रुमलिरहेको बताउनु भयो ।

एमालेलाई रवि लामिछाने बोक्ने कुनै आवश्यकता नरहेको भन्दै अध्यक्ष ओलीले कुनै पनि कुरा जायज हुनुपर्ने बताउनुभयो । ’सरकारबाट हट्नुपर्यो अनि खाबो लुछ्न गयो अर्काेतिर, यो खाँबो लुछ्ने कुरा बिल्लीलाई सुहाउँछ कांग्रेसलाई सुहाउँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले सम्पूर्ण ध्यान मिसन ०८४ मा केन्द्रित गर्न र आगामी चुनावमा पर्साका सबै क्षेत्र जित्ने गरी लाग्न नेता–कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।