कठमाडौं, जेठ १२ । सडक विभागअन्तर्गतको सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आपत्तिजनक हर्कत गरेको भन्दै सो व्यवहार सैह्य नहुने चेतावनी दिएको छ ।
विभागले आजै प्रेस विज्ञप्ति जारी गर्दै डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाइ भएका आपत्तिजनक र अराजक व्यवहार आगामी दिनमा किमार्थ सैह्य नहुने र प्रतिकार गर्न बाध्य हुने चेतावनी दिएको छ ।
काठमाडौं महानगरपालिकाले आज सडक डिभिजन काठमाडौंको दैलोमा फोहरको धूलो खन्याएको थियो । महानगरको सो कामलाई सडक डिभिजनले कडा प्रतिवाद गर्ने घोषणा गरेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आजै उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै एक ट्रक धूलो उपहार पठाउनु भएको थियो । उक्त धूलो महानगरको गाडीले सडक डिभिजन काठमाडौंको प्रवेशद्वारमा खन्याइदिएको थियो ।
विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै बालेनले भौतिक पूर्वाधारमन्त्रीलाई धूलो उपहार पठाउनु भएको थियो ।
मेयर साहले काम अगाडि नबढेसम्म पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने घोषणासमेत गर्नुभएको छ । सडकले कार्यालयको काठमाडौं महानगरपालिककाको मिनि टिपरबाट कार्यालय परिसर छिर्नसमेत अवरोध हुनेगरी फोहोर फालिएको विषयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।
‘काठमाडौं जिल्लाभित्रका सडक निर्माण तथा मर्मतसम्भारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको उपहास हुनेगरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ’, विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विनाअनुमति सडक काटी सडकको कतबलमबचम चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत विनाअनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाइ गरिएको यस किसिमको व्यवहारले कानूनी राज्यको उपहास गरेको ठम्याइ यस सडक डिभिजनको रहेको छ ।’
कार्यालयले आफ्नो कार्य क्षेत्रभित्र भएका त्रुटी औंल्याइ आवश्यक सुझाब दिए सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने, तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाइ भएका अराजक व्यवहार आगामी दिनमा किमार्थ सैह्य नहुने र सोको प्रतिकार गर्नसमेत बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिएको छ । डिभिजन सडकको यो घोषणासँगै दुई सरकारी निकायबीच द्वन्द सिर्जना भएको छ ।
प्रतिक्रिया दिनुहोस्