जनता टाइम्स

२० जेष्ठ २०८१, आईतवार १३:५८

मापसे गरी सवारी चलाउनेमाथि सुधार अभियान चलाउँदा आक्रोशित बने कांग्रेस सांसद खतिवडा


काठमाडौं, जेठ २० । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेहरुको पक्षमा उत्रनुभएको छ । सरकारले मापसे गरी सवारी चलाउनेलाई सडकमा ट्राफिक ब्यवस्थापनमा खटाएपछि सांसद खतिवडाले आपत्ति जनाउनु भएको हो ।

मापासे गरेका व्यक्तिहरूलाई सडकमा स्वयंसेवकका रुपमा खटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनप्रति आपत्ति जनाउनु भयो । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय माग गरेर बोलेका सांसद खतिवडाले मापसे गर्नेलाई सुधारको बाटो देखाएर उपप्रधान एवं गृहमन्त्री लामिछानेले हुकुमी शासन चलाउन खोजेको आरोप लगाउनु भयो ।

गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसका दिन मापसे गरेका व्यक्तिहरूलाई स्वयंसेवकका रुपमा सडकमा खटाउने निर्णय गर्नुभएको थियो । त्यसपछि ट्राफिक प्रहरीले उनीहरूलाई सडकमा विभिन्न स्थानमा स्वयंसेवकका रुपमा खटाउँदै आएका छन । मापसे गरेकालाई सडकमा पठाउने गृहमन्त्री लामिछानेको निर्देशविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको छ ।

सांसद खतिवडाले मापसे गरेका व्यक्तिहरूलाई कारवाहीस्वरुप सडकमा ल्याउने निर्देशन तत्काल बन्द गर्नुपर्ने बताउनु भयो । उहाँले मुलुकलाई हुकुमी शासनमा नभइ कानुन बनाएर चलाउन गृहमन्त्री लामिछानेलाई चुनौती दिनुभयो ।

’यो संविधान हुकुमी शासनमा चल्ने पद्धतिको होइन । कानुनी राज्यअनुसार देश चल्नुपर्छ भन्ने अवधारणमा हामीले संविधान बनाएका हौं। ट्राफिकमा कायम गर्ने महिला दिदीबहिनीहरूलाई पिरियडको समयमा चार दिने बिदा दिने कामको सुरूवात गर्नुभएछ । कानुन बनाएर गर्दा असाध्यै राम्रो । यसलाई स्वागत गर्न चाहन्छ । राम्रो कामका लागि धन्यवाद दिन पनि चाहन्छु। तर, मुलुक हुकुमी शासनमा चल्ने होइन कानुन अनुसार चल्नुपर्छ। कुनै पनि काम गर्दा कानुन बनाएर चल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘मापसे गरेका व्यक्तिहरूलाई बिहान बिहानै सडकमा उभ्याउने अरे । यो कुन कानुन र नियममा छ ? गृहमन्त्रालयले त्यो नियमावलीअनुसार प्रहरीलाई पठाएको छ । कि गृहमन्त्रालयबाट पत्राचार भएको छ कि । यसरी मुलुक चलाउन शासन चलाउने शासन पद्धतिको अन्त्यका लागि लडेका व्यक्तिहरू फेरि हु्कुमी शासन चलाउने पद्धतिको हामी विरुद्धमा छौं ।’

सांसद खतिवडाले यस्तो कुरा स्वीकार्य नहुने बताउनु भयो । ‘कसैको पनि श्रमशोषण गर्न पाइँदैन । कानुन अनुसार मुलुकलाई अगाडि बढाउनुपर्छ। यो काम तुरून्त बन्द गरेर कानुन अनुसार शासन चलाउने व्यवस्थाको सुरूवात होस् भन्न चाहन्छु । प्रधानमन्त्रीलाई भन्न चाहन्छु सानातिना कुरामा। मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन मन्त्रालय कानुन अनुसार चलाउनुपर्छ। कानुन अनुसार सदन, मुलुक चलाउन माग गर्छु । सरकारले यो विषयमा रुलिङको माग गर्दछु,’ सांसद खतिवडाले भन्नुभयो ।