काठमाडौं, जेठ ३१ । पश्चिम तराईमा तीन दिन तातो हावा चल्ने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार पश्चिम तराईमा आज पनि तातो हावा चल्नेछ ।
महाशाखाले आज विशेष बुलेटिन मंगलवार नै पश्चिम तराईमा तीन दिन तातो हावा चल्ने चेतावनी दिएको थियो । महाशाखाका अनुसार बीचमा सामान्य घटेको तापक्रम केही दिनदेखि फेरि बढ्न थालेको छ ।
केही दिनदेखि पश्चिम तराईका भूभागहरुमा तापक्रम ४० देखि ४४ डिग्री सेल्सियससम्म पुगेको छ । काठमाडौं उपत्यकामा पनि तापक्रम बढेको छ । बुधबार सबैभन्दा बढी तापक्रम धनगढीमा ४३.९ डिग्री सेल्सियस मापन भएको छ ।
यस्तै नेपालगन्जमा ४२.२ डिग्री सेल्सियस पुगेको थियो भने न्यूनतम तापक्रम २९ डिग्री सेल्सियम मापन भएको थियो । यसैगरी धनगढीको न्यूनतम तापक्रम २५.६ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार दिपायलमा ४०.८ डिग्री सेल्सियस, विरेन्द्रनगरमा ४१.१ डिग्री सेल्सियस, भैरहवामा ४०.४ डिग्री सेल्सियस, घोराहीमा ३९.५ डिग्री सेल्सियस, जनकपुरमा ३७.८ डिग्री सेल्सियस मापन भएको थियो ।
आज (बिहीबार) पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागहरुमा तापक्रम उच्च रहने देखिएको छ ।
महाशाखाले जनाएअनुसार काठमाडौं उपत्यकामा पनि आज तापक्रम उच्च रहनेछ । बुधबार काठमाडौंको अधिकतम तापक्रम ३४.३ डिग्री सेल्सियस पुगेको थियो । आज पनि सोही हाराहारीमा रहने देखिएको महाशाखाको भनाई छ ।
महाशाखाले आज अपराह्न काठमाडौं उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिम तराईका भूभागहरुमा भने तत्काल वर्षा हुने सम्भावना देखिएको छैन । महाशाखाका अनुसार यही जेठ २७ गते नेपाल भित्रिएको मनसुनको प्रभाव अहिले सूदुरपूर्वी भूभागहरूमा मात्रै रहेको छ । महाशाखाले अहिले पश्चिमी वायु सक्रिय नै भएकाले मनसुन फैलिन नसकेको जनाएको छ ।
पछिल्लो २४ घन्टामा धनकुटाको मछुवाघाटमा ४५ मिलिमिटर, त्रिवेणीमा ३० मिलिमिटर र सप्तकोशीको चतरामा २३.५ मिलिमिटर वर्षा भएको छ । यस्तै पोखरामा ४१.८ मिलमिटर, स्याङ्जामा १० मिलिमिटर र सिन्धुलीमा ३८ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्