जनता टाइम्स

३ असार २०८१, सोमबार २३:०९

राष्ट्रपति पौडेलले जर्मनीका समकक्षीसामू सुनाए नेपालको मुख्य प्राथमिकताका क्षेत्र


जर्मन, असार ३ । युरोप भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र स्टाइनमायरबीच आज भेटबार्ता भएको हो ।

भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिँदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सोसियलिष्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ अलायन्सजस्ता संस्था सामाजिक न्याय, मानवअधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रताका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफ्नो मान्यता रहेको धारणासमत राख्नुभएको छ ।

‘दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपाल तल्लीन रहेको छ, नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दछु,’ राष्ट्रपति पौडेलको भनाइ थियो, ‘नेपालको विकासको पथमा मित्रराष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी विश्वस्त छौं ।’

राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास गर्नु जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र जर्मनीलगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिइ नेपालको आर्थिक विकासको आकाङ्क्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

त्यसैगरी उहाँले विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुध्न जर्मनीले जलवायुसम्बन्धी हानिनोक्सानी कोषमा गरेको सहयोग प्रतिबद्धतालाई स्वागत गर्नुभएको थियो । राष्ट्रपति पौडेलले सहभागितामूलक र समावेशी लोकतन्त्र, मानवअधिकार, मौलिक अधिकार, लैङ्गिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक–आर्थिक मुद्दामा दुई देशबीच अन्तर्राष्ट्रिय मञ्चहरुमा समान धारणा रहेको पनि बताउनुभएको थियो ।

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयासरत रहेको र यसलाई समस्यारहित, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक भएको उल्लेख गर्दै उहाँले यसका लागि नेपाललाई स्रोतसाधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहेको बताउनुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।

नेपालको वर्तमान लक्ष्य कृषिलाई आधुनिकीकरण गर्नु, जलस्रोत तथा ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावनालाई उपयोग गर्नु, पूर्वाधार विकासलाई तीव्र पार्नु, पर्यटनका सम्भावनालाई उपयोग गर्नु र जलवायु परिवर्तनको नकारात्मक प्रभावविरुद्ध लड्नु रहेको उहाँले बताउनुभएको थियो । उहाँले बर्लिनको पर्खाल भत्कनु र नेपालमा प्रजातन्त्र पुनःस्थापना हुनु एकैपटक परेको उल्लेख गर्दै आफूले त्यसबेला स्थानीय विकास मन्त्रीका रुपमा जर्मनको भ्रमण गरेको स्मरण गर्नुभएको थियो । उहाँले युक्रेनमा झुक्याएर पु¥याइएका नेपालीलाई छुटाउन पहलका लागि पनि आग्रह गर्नुभएको थियो ।

नेपाल र जर्मनीबीच विद्यमान व्यापार, लगानी र वाणिज्यका सम्बन्धलाई थप विस्तार गर्न निजी क्षेत्रलाई अभिप्रेरित गर्नु जरुरी रहेको उल्लेख गर्र्दै उहाँले गत महिना काठमाडौँमा नेपाल सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा जर्मन लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्नुभयो । ‘नेपाल सरकार जर्मन लगानीकर्तालाई नेपालमा स्वागत गर्न चाहन्छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो ।

हालैका वर्षमा जर्मनी नेपाली युवाका लागि उच्च शिक्षा अध्ययन, सीपयुक्त काम र सीपजन्य तालिमको लागि एक आकर्षक गन्तव्यका रुपमा स्थापित भएको तथा नेपाल र जर्मनीबीच सीपयुक्त श्रम आप्रवासन र ज्ञान आदानप्रदानका क्षेत्रमा गत वर्ष एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएकाले यसको कार्यान्वयनबाट जनस्तरको सम्बन्ध अझ मजबुद हुने उहाँले विश्वास व्यक्त गर्नुभएको थियो । यसैगरी उहाँले नेपाल वायु सेवालाई युरोपेली सङ्घको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउन जर्मन सरकारको दह्रो सहयोगको आशा व्यक्त गर्नुभएको छ ।