जनता टाइम्स

६ असार २०८१, बिहीबार १०:५७

म्यानपावर ब्यवसायीको गुण्डाराज : बिदेश पठाउने भन्दै लाखौं ठगी, पैसा फिर्ता माग्न जाँदा कोठाभित्र थुनेर कुटपिट


पीडितलाई कोठामा थुनेर कुटपिट गर्ने काममा बस्नेतसँगै इसिएस म्यानपावर का संचालक हर्क लिम्बू, एयरपोर्टस्थित ओखल्ढुंगा सुनकोशी गाउँपालिका घर भएका डोटी म्यानपावरका संचालक लिल तामाङ, एलन ओभरसिज प्रालिका अध्यक्ष जंग इजाम लगायतका समूह रहेको पहिचान भएको छ ।

काठमाडौं, असार ६ । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनका महासचिव ग्लोबल राइजिङ प्लेसमेन्टका सञ्चालक महेशकुमार बस्नेतले वैदेशिक रोजगारका नाममा ठगिएका पीडितहरुलाई बन्द कोठाभित्र थुनेर कुटपिट गरेको तथ्य उजागर भएको छ ।

सोमबार काठमाडौं, भीमसेनगोलास्थिन बिजयचोकमा रहेको एचआर वल्र्ड सर्भिसेस (HR world services_) को कार्यालयमा बस्नेतको नेतृत्वमा पुगेको समुहले एचआर वल्र्ड सर्भिसेजबाट ठगिएका पीडितहरुलाई कुटपिट गरेको पाइएको हो । काठमाडौंस्थित म्यानपावर व्यवसायीहरुको व्हाटसएप ग्रुपमार्फत बस्नेतले तुरुन्त म्यानपावरमा पुग्नका लागि उर्दी जारी गर्नुभएको थियो भने आफू सबैभन्दा पहिले म्यानपावरको कार्यालय पुग्नुभएको थियो ।

म्यानपावर पुगेलगत्तै बस्नेतले ‘तँहरु यहाँ किन आएको ?’ भन्दै कठालो समातेर एउटा बन्द कोठामा थुनेर झापड हानेको पीडितहरुले बताए । बस्नेतले झापड हानेपछि अन्यले पनि सँगसँगै कुटपिट गरेका थिए । उनीहरुलाई प्रहरी वृत्त गौशालालको टोलीले उद्धार गरेको थियो । बबि थापा सञ्चालक रहेको एचआर वल्र्ड सर्भिसेज नामको म्यानपावरले सर्विया पठाउँछु भन्दै १३ जना युवाहरूसँग प्रतिव्यक्ति ५ लाख ५० हजारदेखि ५ लाख ७० हजारसम्म उठाएको थियो ।

सञ्चालक थापाले एजेन्ट वसन्त खरालमार्फत उक्त पैसा संकलन गरेको प्रमाण बाहिर आइसकेको छ । यही महिनाको ७ तारिखमा उनीहरुलाई सर्वियाको फ्लाइट छ भन्दै ती खराल र थापाले बोलाएका थिए । तर, ७ गतेबाट नै खराल सम्पर्कविहीन भए । खरालले बबि थापासँगाको संलग्नतामा सबै कागजात नक्कली बनाएको प्रमाण फेला परिसकेको छ । यही बिषयमा पीडितहरु एचआर वल्र्ड सर्भिसेजमा आफ्नो डुबेको पैसा फिर्ता माग्न धाइरहेका थिए ।

असार ३ गतेबाट सञ्चालक बबि थापा पनि फरार भएका छन । थापालाई सोमबार पीडितहरुले कार्यालयमा भेटेका थिए । पीडितहरुले पैसा माग्न थालेपछि थापाले बाहिरबाट गुन्डाहरु आएर अफिस तोडफोड गर्न लागेको छ भन्दै म्यानपावर व्यवसायीहरुको ग्रुपमा गलत सन्देश प्रवाह गरी बस्नेतको नेतृत्वमा गुण्डादल बोलाउनु भएको पाइएको छ । थापाको निर्देशनमा सो कम्पनीका म्यानेजर झलक प्रसाइले म्यापसहित तुरुन्त आउन सूचना पठाएका थिए ।

सूचना दिएपछि बस्नेतले व्यहाटसएप गु्रपमार्फत भनेका थिए, ‘सबैजना को कुन ठाउँमा हुनुहुन्छ, व्यवसायी मित्रहरु पुगौँ, पुगिहालौँ, नजिक हुने साथीहरु अलि छिटो पुगौँ, यस्तै बेला हो जाने भनेको, सबैजना निस्किहालौँ ।’ प्रहरीले यस बिषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

पीडितलाई कोठामा थुनेर कुटपिट गर्ने काममा बस्नेतसँगै इसिएस म्यानपावर का संचालक हर्क लिम्बू, एयरपोर्टस्थित ओखल्ढुंगा सुनकोशी गाउँपालिका घर भएका डोटी म्यानपावरका संचालक लिल तामाङ, एलन ओभरसिज प्रालिका अध्यक्ष जंग इजाम लगायतका समूह रहेको पहिचान भएको छ । उनीहरुले एचआर वर्ल्ड सर्भिसेज पुगेर पीडितहरुको कुरै नसुनि अन्धाधुन्ध पीडितहरुलाई कुटपिट गरेका हुन ।