कतार, असार ११ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार विभाग प्रमुख चानक पोख्रेलले विप्रेषण पठाउने श्रमिक परिवारको शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भएको छ ।
प्रवासी नेपाली मन्च कतारले आयोजना गरेको नगर कमिटीहरुले आयोजना गरेको कार्यक्रममा पोख्रेलले यस्तो धारणा राख्नुभएको हो । ‘अविछिन्न रूपमा नेपालमा विप्रेषण पठाउने नेपाली श्रमिकका स्वदेशमा भएका परिवारको स्वास्थ्य तथा शिक्षाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ,’ उपसचिव पोखरेलले भन्नुभयो ।
देशको जनसंख्याको एक तिहाई संख्या प्रवासमा रहेर विप्रेषणमार्फत देशको ६५ प्रतिशत आर्थिक भार धानिरहेको हुँदा लगातार एक वर्षसम्म रेमिट्यान्स पठाउने श्रमिकहरूको परिवारको शिक्षा र स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने भन्दै उहाँले यसको अवधारणा सहित नेकपा एमाले अगाडि बढिसकेको बताउनु भयो ।
उहाँले थप्नुभयो, ‘प्रवासमा रहेर पनि हामीले देशको भावना छातीमा सजाएर स्वदेशको लक्षमा सहयोग गर्दै पार्टीको समृद्ध नेपाल : सुखी नेपालीको दृष्टिकोणलाई अंगालिरहेका छौं,’ पोखरेलले भन्नुभयो, ‘हामीले प्रावासिएका नेपाली श्रमिकहरूलाई सङ्गठित तुल्याउन सन् १९९६ देखि प्रवासमा सङ्गठन स्थापना गरेको हौँ, यसको सुरुवात हंगकंग बाट गरेका थियौं ।’
अहिले विश्व भरीमा ३७ देशमा प्रवासी नेपाली मञ्चको सङ्गठन विस्तार भएको समेत बताउनु भयो । आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथि पोख्रेलले पार्टीको आन्दोलनको रणनीति, नेकपा एकताको इतिहासको पृष्ठभूमि, पार्टी फुटको सन्दर्भ समेतको चर्चा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्