जनता टाइम्स

१८ असार २०८१, मंगलवार १०:०७

कांग्रेससँगको सत्ता साझेदारीको सहमतिसँगै एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं, असार १८ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । नेपाली कांग्रेससँग सत्ता सहकार्यका सहमति भई अध्यष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनको सहमति भएलगत्तै एमालेले सचिवालय बैठक बोलाएको हो ।

बैठक दिउँसो तीन बजे बस्नेछ । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा जानकारी दिनुका साथै अनुमोदन गरिने छ । एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।

सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन । यही विषयमा छलफल गर्न आजै नेपाली कांग्रेसले पदाधिकारी बैठक र रास्वपाले सचिवालय बैठक बोलाएका छन् ।

एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबीच सहमति बनेको प्रष्ट पार्नुभएको छ । महासचिव पोखरेलले केहीबेर अघि सामाजिक सञ्जालमार्फत राजनीतिक स्थायित्व र मुलुकमा रहेका गतिरोध अन्त्यका लागि दुई ठूला दलबीच सत्ता साझेदारीको सहमति भएको बताउनु भएको हो ।