जनता टाइम्स

२१ असार २०८१, शुक्रबार १८:३३

नेकपा एसको कुनै हैसियत छैन भन्दै प्रेम आलेले गरे केन्द्रीय कमिटीमा बस्नै अस्वीकार, सुनाए माधव नेपाल असक्षम रहेको निश्कर्ष


काठमाडौं, असार २१ । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आलेले आफ्नै पार्टीको कुनै हैसियत नरहेको तथ्य खोल्नुभएको छ ।

पार्टीको जारी महाधिवेशनमा केन्द्रीय सदस्य बन्न अस्वीकार गरेको खुलासा गर्दै पूर्वमन्त्री आलेले नेकपा एसको कुनै हैसियत नभएको बताउनु भयो । ‘कुनै पनि हैसियत नभएको पार्टीको केन्द्रीय सदस्य होइन, पदाधिकारी नै दिएपनि मलाई स्वीकार्य छैन,’ आलेले भन्नुभयो, ‘म डोटेली जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुँ । जनताका लागि स्वतन्त्र रूपमा काम गर्ने हो । पदले के चाट्ने हो र ?’

उहाँले एकीकृत समाजवादी पार्टी र नेतृत्वलाई पिँध नभएको लोटाको संज्ञा दिनुभयो । असक्षम नेतृत्वले सञ्चालन गरेको पार्टीको महाधिवेशनमा आफूलाई रुची नभएको पनि उहाँले बताउनु भयो । पार्टी नेतृत्वको कार्यशैलीप्रति आफूले निरन्तर रूपमा विमति राख्दै आएको भन्दै आलेले सो पार्टीको भविश्य नरहेको निश्कर्ष सुनाउनु भयो ।

उहाँले पार्टीको केन्द्रीय कमिटीको सदस्य बन्न आफूलाई कुनै इच्छा नभएको पनि बताउनु भयो । एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले शुक्रबार ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा आलेको नाम नपरेको भन्ने प्रचार भएपछि उहाँले आफू पार्टीको केन्द्रीय कमिटीको सदस्य बन्न इच्छुक नरहेको बताउनु भयो ।

‘मलाई हैसियत नै नभएका केन्द्रीय कमिटीको सदस्य बन्न मन थिएन, त्यसैले वास्ता गरिन,’ आलेले भन्नुभयो ।