जनता टाइम्स

२४ असार २०८१, सोमबार ०८:५०

बागमती लुम्बिनी ५ प्रदेशमा सोमवार भारी वर्षाको सम्भावना


काठमाडौं, असार २४ । मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी, लुम्बिनसहित ५ प्रदेशमा भारी बर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहने छ ।

सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।