काठमाडौं, असार २४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरासा फैलाउने बाकेह अरु कनै काममा ध्यान नदिएपछि कांग्रेस–एमाले सत्ता समीकरण गर्नुपरेको तथ्य खोल्नुभएको छ ।
एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय प्रचार तथा प्रकाशन बिभागले तयार पारेको पार्टीको सञ्चार नीति बुझेपछि महासचिव पोखरेलले यस्तो तथ्य खोल्नुभएको हो । ‘प्रधानमन्त्रीमा निराशा चिर्ने कुरामा खास रुची देखिएन । उल्टो अस्थिरता बढाउनेतिरै ध्यान दिनुभयो । सरकारमा बसेर आफै अस्थिरताको पक्षमा लाग्नुभयो,’ महासचिव पोखरेलले भन्नुभयो ।
महासचिव पोखरेलले प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट फर्केर आएपछि राष्ट्रिय सहमतिको सरकारको नारा दिई गठबन्धन फेर्नतिर लागेको तथ्य पनि खोल्नुभयो । ‘भारत भ्रमणबाट फर्केर आएपछि प्रधानमन्त्रीको ब्यवहार परिवर्तन भयो । उहाँ एक्कासी राष्ट्रिय सरकार भन्न थाल्नुभयो । तर किन र केका लागि राष्ट्रिय सरकार भन्ने आधार प्रस्तुत गर्नुभएन । आफ्नै नेतृत्वमाराष्ट्रिय सरकारको कुरा गर्न थाल्नुभयो,’ प्रचण्डकै कारण अहिलेको परिस्थिति बनेको जानकारी दिँदै महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले सत्ता समीकरणको सवैभन्दा प्रमुख दल एमालेलाई कुनै जानकारी नै नदिए प्रधानमन्त्री दाहालले कांग्रेससँग राष्ट्रिय सरकारको प्रस्ताव राखेको जानकारी पनि उहाँले दिनुभयो । ‘सरकारको प्रमुख दल एमाले छ । तर हामीसँग कुनै सल्लाह नै नगरी अझ सुईंको समेत नदिएर प्रधानमन्त्रीले कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव गर्नुभयो । तर प्रचण्डको चालवाजी बुझेको कारण कांग्रेस तयार भएन । त्यसपछि हामी दुई पार्टी बसेर अव यसरी मुलुकलाई अस्थिर बनाएर राख्न सकिन्न । तेस्रोलाई मुलुक बुझाएर थप निरासा र बर्वादीतिर धकेल्न दिनुहुन्न भनेर सहमतिमा पुगियो,’ महासचिव पोखरेलले भन्नुभयो ।
एमालेले प्रधानमन्त्री प्रचण्डलाई सफल बनाउनका निम्ति सरकारमा सहभागितासमेत सहयोगीको जसरी मन्त्री लिएर सहयोग गरेको तर उहाँले त्यसलाई आफूहरुको कमजोरीको रुपमा बुझेर देश र जनताको पक्षमा सानो कुरा पनि नसोची बसेको बताउनु भयो । ‘परिणाम देखाउनेतर्फ, आशा जगाउनेतिर उहाँको रुची केही पनि देखिएन । सत्तामा सधैभरी कसरी बसिरहने भन्नेतिर मात्रै रुची देखियो, हामीसँग सामान्य समन्वय पनि गर्नुभएन,’ नेपाली कांग्रेससँगको सहकार्यबारे जानकारी दिँदै महासचिव पोखरेलले भन्नुभयो ।
‘चार महिना पहिला एउटा तरिकाबाट जान सकिन्छ कि भनेर पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिएको भए पनि सफल हुन सकिएन । उहाँमा कुनै बदलाव आएन,’ महासचिव पोखरेलले भन्नुभयो । जनतामा निराशा, अर्थतन्त्रमा सङ्कट, समाजमा एक प्रकारको अराजकता पैदा भएको बेला त्यसलाई कसरी चिर्ने भन्ने कुरामा दाहालमा कुनै चिन्ता नदेखिएको उहाँले बताउनुभयो । यद्यपी उहाँलाई सफल बनाउन एमालेले हदैसम्मको प्रयास गरेको पोखरेलले बताउनुभयो ।
एमालेले प्रचण्डले छाडेका मन्त्रालय लिएर समेत उहाँलाई सहयोग गरेको पोखरेलले प्रष्ट पार्नुभयो । ‘एउटा प्रधानमन्त्रीलाई काम गर्नको लागि चाहिने चिज गर्नुस भनेर नै गरियो’, पोखरेलले भन्नुभयो । आलोपालो सरकारको कुरा भएको भए पनि यो सरकारले राम्रोसँग काम गर्छ भने पुरै अवधि गर्दा पनि हुन्छ भनेको उहाँले स्मरण गराउनुभयो । ‘निराशा चिर्नेतर्फ, परिणाम देखाउनेतर्फ उहाँले प्रयास गरेको देखिएन, सत्तामा रहने कुरामा रुची ज्यादा देखियो, काममा रुचि देखिएन’, उहाँले भन्नुभयो ।
सामान्यतया परिस्थितिलाई बदल्ने भनेको सरकारको नीति, कार्यक्रम र बजेटले नै भएको पोखरेलले बताउनुभयो । नीति, कार्यक्रम र बजेट बनाउँदा प्रचण्डले एमालेसँग कुनै परामर्श नै नगरेको उहाँले बताउनु भयो । एमालेले त्यस विषयमा कुरा गर्दा पनि उहाँले कुनै गाम्भीर्यता नदेखाएको पोखरेलले बताउनुभयो ।
नीति, कार्यक्रम ल्याउँदा नै एमाले कुरा उठाएपछि बजेट ल्याउँदा छलफल गर्नुपर्नेमा अझ बजेट ल्याउँदा मन्त्रीहरू नै सर्वेसर्वा भए जस्तो गरी काम गरेको उहाँले टिप्पणी गर्नुभयो । मन्त्रीहरूले लामो समय हामी रहन्छौँ रहँदैनौँ, रहेको बेला आफ्ना र आफ्नो क्षेत्रमा काम गर्ने जस्तो व्यवहार देखाएका पोखरेलेले बताउनुभयो । यसले नागरिकमा थप निराशा बढाउने काम गरेको उहाँको भनाइ छ ।
महासचिव पोखरेलले देशको अहिलेको राजनीतिक अवस्था थप निराशाजनक भएको कारण त्यसको अन्त्य गर्न कांग्रेस र एमालेबीच समीकरण बनेको बताउनु भयो । ‘चरम निसाको त्यो अवस्थाबाट मुलुकलाई आशातर्फ लैजान आवश्यक छ । त्यही कामका लागि मुलुकका दुई ठूला शक्ति मिलेर सवैलाई समेटदै राष्ट्रिय सहमतिको सरकार गठनको दिशामा अघि बढनु पर्यो,’ महासचिव पोखरेलले भन्नुभयो ।
नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. महेन्द्र विष्टको संयोजकत्वमा गठित मस्यौदा समितिले पाँच खण्डमा विभाजित प्रस्तावित सञ्चार नीति तयार गरेको छ । नीतिको पहिलो खण्डमा पृष्ठभूमि अन्तर्गत नेकपा एमालेको प्रतिबद्धता, पार्टी दस्तावेजमा सञ्चार अवधारणा, चुनावी घोषणापत्रमा सञ्चारको समीक्षा, राज्यको सञ्चार नीतिको समीक्षा, नेकपा एमालेका सबल पक्ष तथा चुनौती र नीतिको औचित्य र सान्दर्भिकता समेटिएको छ ।
दोस्रो खण्डमा मार्गदर्शक सिद्धान्त, दीर्घकालीन सोच, लक्ष्य र उद्देश्यहरू अन्तर्गत नीतिको मार्गदर्शक सिद्धान्त, नीतिको दीर्घकालीन सोच, नीतिको उद्देश्य र नीतिको क्षेत्र समेटिएको छ । यस्तै तेस्रो खण्डमा सञ्चार नीतिको लक्ष्य, सम्बन्धी समग्र नीति अन्तर्गत पार्टीको सञ्चार नीति र राज्य सञ्चालनका सन्दर्भमा एमालेको सञ्चार नीति समेटिएको छ ।
चौथो खण्डमा पार्टी कार्यको प्रचारप्रसार अन्तर्गत विषयवस्तुको छनोट, प्रचारप्रसारका माध्यम र प्रचार सामग्रीको उत्पादन, आमसञ्चार र पार्टीका प्रकाशन प्रसारण एवं पाँचौँ खण्डमा नीति कार्यान्वयन त पुनरावलोकनसम्बन्धी विषयहरू समेटिएको छ । सो नीतिको कार्यान्वयनबाट नीतिको उद्देश्य हासिल हुने विश्वास मस्यौदा समितिले लिएको छ । प्रतिवेदन बुझ्दै महासचिव पोखरेलले अव यो पार्टीको सम्पत्ति बनेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्