जनता टाइम्स

२८ असार २०८१, शुक्रबार ०८:४७

सत्ता छाडनै पर्ने बाध्यताले आज पाँचौं पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल, यस्तो छ अङ्कगणित


काठमाडौं, असार २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लाग्नुभएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार आज संसदमा विश्वासको मत लिन लाग्नुभएको हो ।

नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठुला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेका छन । सहमतिसँगै एमालेसहितका सत्ता साझेदार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार चरम अल्पमतमा परेको छ । अल्पमतमा परेपछि राजीनामा नदिई प्रधानमन्त्री दाहालले संसदमा फेस गर्ने बताउँदै आज बिश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी पार्टी मात्र देखिएका छन् । संसदमा यी तीन दलको ६३ सिट मात्र रहेको छ । कांग्रेस, एमाले, राप्रपासहितका अन्य साना दलहरू विपक्षमा उभिएकोले प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने सम्भावना छैन । बिश्वासको मत लिन लागेसँगै आजबाट दाहाल सरकार बिस्थापित हुने छ । उहाँ २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

एमालेसहित एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बन्नुभएका दाहालले नियुक्त भएको १५ दिनपछि पहिलोपटक २०७९ पुस २६ गते बिश्वासको मत लिनुभएको थियो । पहिलो पटक प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये उहाँले दुई सय ६८ जनाको मत प्राप्त गर्नुभएको थियो । दुई जना सांसदले विपक्षमा मतदान गरेका थिए । त्यसको झन्डै साढे दुई महिनापछि एमालेलाई आफैले धोका दिएर सरकारबाट हटन बाध्य पारेपछिसरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

त्यसबेला उहाँलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको तटस्थ मत रहेको थियो । प्रधानमन्त्री प्रचण्डले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उहाँको पक्षमा मतदान गरेका थिए । कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गरेका थिए ।

एक मत तटस्थमा परेको थियो । त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबिच चौथोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँको पक्षमा एक सय ५७ सांसदले मत दिएका थिए भने एकजना सांसदले तटस्थ मत जाहेर गरेका थिए ।

संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।

संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिकतर्फ एक सय १० गरी कुल दुई सय ७५ सदस्यीय रहेको छ । यसअघि आफ्नो रहरले बिश्वासको मत लिँदै आउनु भएका प्रधानमन्त्री दाहाल यसपटक भने सत्ताबाट बाहिरिनै पर्ने बाध्यताका कारण बिश्वासको मत लिनुपरेको हो ।