गणेश बस्नेत/काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकारमा नेकपा एमालेका उपमहासचिव बिष्णु रिमाल र प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त हुनुभएको छ ।प्रधानमन्त्री ओलीले अघिल्लो सरकारमा उत्कृष्ट काम गरेको आधारमा प्रमुख सल्लाहकारमा रिमाललाई छनोट गर्नुभएको हो ।
यस्तै स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आउनु भएका बज्राचार्यलाई यसपटक बढुवा गरी प्रमुख स्वकीय सचिव नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालदेखि नै बज्राचार्य स्वकीय सचिवको जिम्मेवारीमा रहनुभएको थियो । यसपटक भने उहाँको भूमिकाको कदर गर्दै प्रमुख स्वकीय सचिवमा नियुक्त गरी स्वकीय सचिवालयको नेतृत्व सुम्हानुभएको हो ।
प्रमुख सल्लाहकार रिमाललाई मन्त्रिपरिषद बैठकले नियुक्त गरेको हो भने बज्राचार्यलाई प्रधानमन्त्री ओलीले नियुक्त गर्नुभएको हो । बज्राचार्य लामो समयदेखि ओलीको सचिवालयमा रहेर सघाउँदै आउनु भएको छ । सवैसँग समन्वय गर्न सक्ने क्षमताका बज्राचार्य प्रधानमन्त्री ओलीका बिश्वास पात्र हुनुहुन्छ । प्र
मुख स्वकीय सचिवमा नियुक्त भएलगत्तै बज्राचार्यले सचिवालयमा रहने ५ जनालाई नियुक्त गर्नुभएको छ । बज्राचार्यले यसअघि एमाले अध्यक्ष ओलीकै सचिवालयमा रहेर सघाउँदै आउनु भएका दिपेन्द्र दाहाल, रामशरण बजगाई, रोसनी मेचे, दिनेश भण्डारी र उदय पोखरेललाई आफू मातहत रहने गरी नियुक्त गर्नुभएको छ ।
योसँगै प्रधानमन्त्री ओलीको सचिवालयको टीम ६ सदस्यीय पुगको छ भने सल्लाहकार टीममा प्रमुख मात्रै नियुक्त गरिएको हो । प्रधानमन्त्री ओलीले आफ्नो सल्लाहकार टीममा रहने ब्यक्तिको बिषयमा गृहकार्य गर्न रिमाललाई नै जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त भइसक्नु भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता नियुक्त गर्नुभएका बडालले आज नै पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हाल्नुभएको छ ।
‘समृद्ध नेपाल सुखी नेपाली’ को मार्गचित्र लिएर निराशालाई चिर्ने प्रमुख लक्ष्यसहित प्रधानमन्त्री ओलीले बलियो टिम बनाउने गरी गृहकार्य गर्न रिमाललाई जिम्मेवारी दिनुभएको हो । प्रधानमन्त्रीको शपथ लिएकै दिन गत सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएका ओलीले प्रारम्भिक चरणको सचिवालय टिम बनाउनु भएको हो ।
प्रमुख सल्लाहकारमा नियुक्त रिमालले २०७४ पछि नेकपाको सरकार हुँदाको सचिवालयभन्दा अलि फरक ढंगले काम गरी परिणाम निकाल्नुपर्ने अवस्था रहेको भन्दै बलियो सचिवालयले मात्र प्रधानमन्त्रीको योजनालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन योगदान गर्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले यसपटक आर्थिक, परराष्ट्र, प्रेस, सुरक्षा, जनसम्पर्क, प्रशासनिक, सुरक्षालगायत सल्लाहकार र विज्ञ नियुक्त गर्ने योजना बनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्