काठमाडौं, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको छ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
आन्तरिकतर्फका सबै उडान–अवतरण बन्द भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । अहिले आन्तरिक जहाजहरूलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ।
सौर्यको ९ एन-एएमईरसीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो।जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । क्याप्टेन मनीष शाक्यलाई बिहान ११ बजेर ३४ मिनेटमा उद्धार गरेर केएमसी अस्पताल लगिएको र उहाँको आँखामा चोट रहेको तर बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । प्रहरीले जहाजमा लागेको आगो बुधबार बिहान ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको जनाएको छ ।
सौर्य एयरको बिमान पोखराको लागि उडान गर्ने क्रममा बुद्ध एयरको ह्याङ्गर पछाडी खाली ठाउँमा खसेको थियो। अहिलेसम्म दुर्घटनाबाट १८ जनाको मृत्यु भएको छ। जहाजमा १९ जना सवार थिए। उनीहरू सबै जना सौर्य एयरकै कर्मचारीहरू हुन ।
प्रतिक्रिया दिनुहोस्