भगिरथ प्रयत्न गर्दा पनि एमालेको संगठित शक्तिलाई विगार्न नसकेको मात्र होइन, राष्ट्रिय पार्टीको हैसियत समेत कायम गर्न नसकेपछि प्रधानमन्त्री बनेर पार्टी बनाउने तानावाना बुन्दै गरेका माधवलाई प्रचण्डजत्तिकै आघात परेको छ ।
निर्मल भट्टराई
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ता बहिर्गमनपछि बोली र व्यवहारमा आकाश जमिनको फरक देखिएको छ । आफूसँग जादुयी सङ्ख्या भएकोले पाँचै वर्ष सत्तामा टिक्न सक्ने बताएको केही घण्टा नबित्तै नेपाली कांग्रेस र नेकपा एमालेबमे समीकरण बनेपछि बिक्षिप्त बनेर छटपटिएका प्रचण्ड वर्तमान समीकरणले नेपालको कम्युनिष्ट आन्दोलनका धरोहर, नेपाली जनताले सर्वाधिक रूचाइएका केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएपछि झन उकुसमुकुसमा देखिएका छन ।
‘ढाडमा टेकेर टाउकोमा हान्ने’, ‘भद्रगोलमा गोल गर्ने’ र ‘अग्रगामी छलाङ् मार्ने’ जस्ता अराजकतावादी चिन्तनका प्रवर्तक प्रचण्ड राष्ट्रिय राजनीतिमा निरन्तर प्रतिरक्षात्मक हुँदैछन । हिजो कुनैवेला नेपाली कांग्रेस र नेकपा एमालेलाई दुवैलाई टक्कर दिने माओवादी पार्टी आज बालुवामा छरिएको तोरीसरह क्रमशः बिलाउँदै गएको छ । ०५४ सालमा भएको नेकपा एमालेको विभाजनको फाइदा उठाएर शक्ति आर्जन गरेका प्रचण्ड देश बनाउने एजेण्डा बनाउन असफल हुँदा निरन्तर कमजोर हुँदै गएका छन् ।
झन नेकपा एमाले र नेपाली कांग्रेस मिलेर देशको तमाम समस्या समाधान गर्ने, संविधानमा देखिएका समस्याहरू संविधान संशोधनमार्फत समाधान गर्ने, सङ्घीयतालाई थप व्यवस्थित र मजबुत बनाउने, सिथिल अर्थतन्त्रलाई लयमा फर्काउनेजस्ता सहमतिले नेपालको राजनीतिमा आफ्नो स्पेस हराउने भय प्रचण्डलाई बढ्दै गएको छ । अहिलेकै विचारविहिन अवस्थामा पार्टी बन्न नसक्ने मात्र होइन, प्रचण्डको चटके र धोकाधडीपूर्ण शैलीका कारण हिजोका दौंतरी र सहयात्री आज दुश्मनजस्ता भएका कारण तत्काल उनलाई कसैले विश्वास गर्ने अवस्था पनि छैन । उनको पहलकदमीमा बनेको समाजवादी मोर्चामा पनि ‘भ्यागुत्ताको धार्नी’ पुग्ने अवस्था छैन ।
कम्युनिष्ट आन्दोलन धरासायी बनाउने र आफू अराजकता मच्चाएर फाइदा लिइरहने कुलुसित मनसायका साथ बनाइएको तथाकथित समाजवादी मोर्चा स्वार्थसिध्दि र बार्गेनिङको लागि बनेको मोर्चा हो भन्दा अत्युक्ति हुने छैन किनभने त्यहाँ सबै आ–आफ्ना स्वार्थका बाँसुरी बजेको बाहिरसम्म प्रष्ट सुनिएकै छ । मोर्चामा हाल आवद्ध नेताहरूलाई नै यो मोर्चाले बेडा पार लगाउँछ भन्ने विश्वास पटक्कै छैन । यो अनिकालको पाहुर हो, मोर्चाका महापात्र प्रचण्डको लागि बनाइएको सान्त्वनारूपी माहुर हो ।
अचम्मको कुरा त के छ भने माधव नेपालले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले भनेछन, ‘मलाई एमालेका देशभक्त नेता कार्यकर्ताको मलाई चिन्ता छ ।’ तथाकथित जनयुद्धकालमा रुकुमका यदु गौतम, कैलालीका चक्र डगौरा चौधरी, काभ्रेका कृष्ण सापकोटा, दोलखाका बुद्धिमान पाख्रिनलगायत एमालेका होनहार सयौं नेता–कार्यकर्ताको प्रचण्डले ‘चिन्ता’ गरेकै हुन । तर प्रचण्डको त्यो चिन्ता र अहिलेको चिन्ताचाहिँ विल्कुल भिन्न छ ।
त्यो बेला प्रचण्ड एमालेलाई मारेर सिध्याउन सकिन्छ भन्ने मान्यता राख्थे भने अहिले उनी एमालेलाई भाँडेर सिध्याउने ध्याउन्नमा छन । विगतमा एमालेसँग गरिएको हतार–हतारको एकता पनि एमालेलाई तितरवितर पार्ने योजनाका साथ भएको थियो भन्ने उनका पछिल्ला क्रियाकलापबाट प्रष्टै खुलिसकेको छ । प्रचण्डले अहिले एमालेसँग एकताभाव दर्साउनु, कम्युनिष्ट एकताको बाँसुरी बजाउनु एमाले भाँड्ने षडयन्त्रका शृङ्खला हुन् ।
तर तिनलाई थाहा छैन, एमाले न मारेर सिद्धियो, न भाँडेर सिद्धिन्छ। एमालेले अङ्गिकार गरेको नीति–सिद्धान्तले, एमालेले लिएको देशभक्तिपूर्ण अडानले र एमालेले जनताको पक्षमा गरेको कामले एमालेलाई बचाउन र बढाउन पर्याप्त छन । अब एमालेमाथि हुने प्रचण्ड प्रहार लगभग निश्प्रभावी भइसकेको छ । सिङ्गो एमाले पङ्क्ति प्रचण्डका विषाक्त विचारसँग भलिभाँति जानकार छ । जुँगा चल्यो, कुरा बुझ्यो, कुम हल्लियो, षडयन्त्र छर्लङ्गियो ।
अचम्मको कुरा त के छ भने माधव नेपालले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले भनेछन, ‘मलाई एमालेका देशभक्त नेता कार्यकर्ताको मलाई चिन्ता छ ।’ तथाकथित जनयुद्धकालमा रुकुमका यदु गौतम, कैलालीका चक्र डगौरा चौधरी, काभ्रेका कृष्ण सापकोटा, दोलखाका बुद्धिमान पाख्रिनलगायत एमालेका होनहार सयौं नेता–कार्यकर्ताको प्रचण्डले ‘चिन्ता’ गरेकै हुन । तर प्रचण्डको त्यो चिन्ता र अहिलेको चिन्ताचाहिँ विल्कुल भिन्न छ ।
नेका–एमाले समीकरण बनेर ओली शक्तिशाली प्रधानमन्त्री बनेपछि माधव नेपाल, जो एमालेबाट चोइटिएको दिनदेखि साह्रो गाह्रोमा प्रचण्डकै शरण पर्दै आएका थिए,को हालत पनि कम नाजुक छैन । तत्कालीन अवस्थामा दक्षिणपन्थी सत्ता निर्माणको लागि जन्मिएको र सत्ताकै आडमा आफ्नो अस्तित्व देखाउँदै आएको उनको पार्टी पहिलो पटक सत्ता बाहिर परेको छ । भगिरथ प्रयत्न गर्दा पनि एमालेको संगठित शक्तिलाई विगार्न नसकेको मात्र होइन, राष्ट्रिय पार्टीको हैसियत समेत कायम गर्न नसकेपछि प्रधानमन्त्री बनेर पार्टी बनाउने तानावाना बुन्दै गरेका माधवलाई प्रचण्डजत्तिकै आघात परेको छ । नेपाली कांग्रेसले आफूलाई चटक्क छोडिदिएको र एमाले अध्यक्ष ओलीसँग सत्ता साझेदारी गरेकोमा उनलाई ठूलै गुनासो छ । पीडा छ । त्रास छ । अपराधको सजाय पाइन्छ कि भन्ने बिलाप छ ।
प्रचण्ड र माधव नेपाललाई एमालेलाई गाली नगरी निन्द्रा नलाग्नु नै एमालेको सफलता र उनीहरूको असफलता हो । एमाले नेपाली जनताको माया ममताबाट बनेको पार्टी हुनाले सत्तामा हुँदा वा प्रतिपक्षमा हुँदा खास फरक पर्दैन । प्रचण्डले चिन्ता गरिदिंदा वा धारेहातले गाली गर्दा पनि खास फरक पर्दैन । प्रचण्ड र माधवको जस्तो सत्तामोह हरामखोरहरुबाट जोगिएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जति डाह, ईर्ष्या र गाली गरे पनि एमाले हात्तीसरह लम्किरहेको छ, लम्किरहन्छ । तर सत्ताविना हलचल गर्न नसक्ने कमरेडहरूको आगत कहालीलाग्दो छ भन्न चाहिँ कुनै आइतवार कुर्नु पर्दैन ।
प्रतिक्रिया दिनुहोस्