जनता टाइम्स

१६ श्रावण २०८१, बुधबार ०३:२४

बुधवार बागमती-गण्डकी र सुदूरपश्चिम प्रदेशमा धेरै पानी पर्ने, सतर्क रहन अपिल


काठमाडौं, साउन १६ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधवार देशभर हल्कादेखि मध्यम खालको बर्षा हुने जनाएको छ । महाशाखाका अनुसार आज बिहान देशभर साधारणतया बदली रहने छ ।

यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाले जनाएअनुसार बुधवार दिउसो देशभर साधारणतया बदली रहने छ। कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै राती देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।