जनता टाइम्स

२७ श्रावण २०८१, आईतवार ०९:५१

कोशी-गण्डकी-कर्णालीसहित ६ प्रदेशमा आज भारी भारी वर्षा हुने


काठमाडौं, साउन २७ । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

महशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसम्भावना रहेको छ ।