जनता टाइम्स

२ भाद्र २०८१, आईतवार १९:१३

बालेन र सुनिताको चरित्र हत्या गर्ने युवक पक्राउ, फेक भिडियो बनाउने अभियानमै रहेको तथ्य भेटियो


काठमाडौं, भदौ २ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर बालेर र सुनिताको फेक भिडिओ बनाएर चरित्र हत्या गरेको पुष्टि भएपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । नेपाल प्रहरीको साइबर ब्युरोले बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई आज पक्राउ गरेको जनाएको छ ।

रावतलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । रावतले हालैमात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोललाई जोडेर बनाइएको एआइ भिडिओ भाइरल भएको थियो । त्यसविरुद्ध सुनीताले साइबर ब्यूरोमा उजुरी दिनुभएको थियो ।

पक्राउ परेका युवक सिन्धुपाल्चोकमा मेडिकल व्यवसाय गर्दै आएको पाइएको छ । रावतले अरु पनि फेक भिडिओ बनाउने गरेको पाइएको छ । तीन पार्टीका प्रमुख नेताहरु डान्स गरेको भिडिओ पनि रावतले नै बनाएको प्रहरीको भनाई छ ।

रावतले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणालाई समेत जोडेर आपत्तिजनक भिडिओ बनाएको पाइएको छ । यस्तै रावतले अन्य बिभिन्न बिशिष्ट ब्यक्तिको भिडियोसमेत बनाएको पाइएको छ ।