जनता टाइम्स

३ भाद्र २०८१, सोमबार २१:३०

परराष्ट्रमन्त्री देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग भेटबार्ता, यस्तो छ कुराकानीको निचोड


दिल्ली, भदौ ३ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको छ । परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको छ ।

परराष्ट्र मन्त्री राणाले आजै भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

आज दिउँसो उहाँहरूबीच भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यका बारेमा छलफल भएको थियो ।

भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएको हो । यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कनुहुनेछ ।