जनता टाइम्स

३ भाद्र २०८१, सोमबार २३:१८

सुख्खा पहिरोले थुनियो इन्द्रावती नदी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको अपिल


सिन्धुपाल्चोक, भदौ ३ । सुख्खा पहिरोको कारण इन्द्रावती खोला थुनिएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ तिपेनी बजारस्थित पाँचपोखरी प्राथमिक अस्पताल नजिकै आएको सुख्खा पहिरोका कारण इन्द्रावती नदीको केही भाग थुनिएको हो ।

आइतबार रातिदेखि परेका अविरल वर्षाका कारण सो क्षेत्रमा सुख्खा पहिरो गएका कारण इन्द्रावती नदीको केही भाग थुनिएको प्रहरीले जनाएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाका अनुसार ’अहिले पनि ढुङ्गा माटो खस्ने क्रम रोकिएको छैन भने पहिरोका कारण प्राथमिक अस्पताल, तिपेनी बजार र तिपेनीबाट तल रहेको नदी तटीय क्षेत्र उच्च जोखिममा परेको छ ।

पहिरो आउने क्रम नरोकिए पछि संभावित दुर्घटनाबाट जोगाउन घटनास्थलमा अहिले जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले घटनास्थलको निरीक्षण गरिरहेका छन । पहिरोको उच्च जोखिममा रहेको अस्पतालको सामग्री सार्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

सुख्खा पहिरोका कारण तिपेनीलगायत तटीय क्षेत्रका नागरिकहरू त्रसित भएका छन । अझै पनि सुख्खा पहिरो झरिरहेकाले के हुन्छ भन्न सक्ने अवस्था नभएको स्थानीयको भनाइ छ । पहिरोका कारण पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ भने खोला थुनिएमा तिपेनी बजार, नेशनल हाइड्रोपावर, मेलम्ची बजार लगायतको नदी तटीय क्षेत्रमा प्रत्यक्ष असर गर्ने छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना निकालेर पाँचपोखरी थाङ्पाल गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका नदी तटीय क्षेत्रमा बस्ने स्थानीयलाई सचेत रहन अपिल गरेको छ ।