काठमाडौं, असोज २६ । राष्ट्रपति बिद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउनु भएको छ ।
आफ्नो निमन्त्रणामा दुई दिने नेपाल भ्रमण सम्पन्न गरी चिनियाँ समकक्षी स्वदेश फर्केलगत्तै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो । राष्ट्रपति भण्डारीले महामहिम सीले नेपाल र नेपालीप्रति दर्शाउनु भएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता ज्ञापनसमेत गर्नुभएको छ ।
यस्तो छ राष्ट्रपति भण्डारीको ट्वीट
हाम्रो निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङज्यूको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीन बीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ । महामहिमज्यूले नेपाल र नेपालीप्रति दर्शाउनु भएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
प्रतिक्रिया दिनुहोस्