काठमाडौं, असोज २९
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपनिर्वाचनको उम्मेद्धारको सूचि कात्तिक १० गतेभित्र पठाउन निर्देशन दिएको छ । मंसिर १४ गते उपनिर्वाचन हुने क्षेत्रको उमेदवारका लागि कात्तिक १० गतेसम्म उमेदवारको नामावली केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकपछि बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १४ मा हुने उपनिर्वाचानमा नेकपाको उम्मेदवार सिफारिस तथा टुंगो लगाउन प्रदेश तथा तल्लो तहका कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको बताउनु भयो । उहाका अनुसार प्रतिनिधसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनको हकमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीको परामर्शमा प्रदेश कमिटीले ३ जनाको नाम कात्तिक १० भित्र सिफारिस गरिसक्नुपर्नेछ।
‘प्रदेश कमिटिको सिफारिसपछि पार्टी केन्द्रले अन्तिम निर्णय लिनेछ। जहाँ निर्वाचन क्षत्रीय कमिटी बनेको छैन त्यहाँ जिल्ला र प्रदेश कमिटले नै सिफारिस गर्नेछ’, प्रवक्ता श्रेष्ठले बताउनु भयो । स्थानीय तहअन्तर्गत नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखको निर्वाचनको हकमा सम्बन्धित गाउँ वा नगर कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले उम्मेदवार टुंगो लगाउने उहाले बताउनु भयो । वडाको हकमा सम्बन्धित वडा कमिटी र सम्बन्धित गाउँ वा नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्ने निर्णय भएको छ ।
यसैविच नेकपा सचिवालय बैठकले संगठन विभागमा तीन जना सदस्य थप गर्ने निर्णय पनि गरेको छ । विभागमा प्रमुख बामदेव गौतम र उपप्रमुख जनार्दन शर्मा हुनुहुन्थ्यो । यसका अतिरिकत ३ सदस्यहरु अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाले तीन जना थप गरेपनि संगठन विभागले अझै पर्णता नपाएको समेत जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्