काठमाडौं, असोज १९ । बाढी पहिरोले एक साताअघि क्षति पुर्याएका सडकमध्ये ११ वटा सडकका ३० खण्डमा अझै यातायात सेवा अवरुद्ध छ । सडक बिभागका अनुसार ४ सय २० स्थानमा एकतर्फी सवारीसाधन चलिरहेका छन । सरकारले अवरुद्ध सडक खुलाउन प्रयास गरिरहे पनि अधिकांश खण्ड दसैंअघि नै सञ्चालनमा आउने सम्भावना देखिएको छैन ।
बाढीपहिरोका कारण चल्तीका सडक अवरुद्ध भएपछि आसपासका सडकमा सवारी चाप बढेको छ । बीपी राजमार्गको धुलिखेल–नेपालथोक खण्ड बाढीले बगाएपछि चन्द्रागिरि–चित्लाङ–कुन्छाल–हेटौंडा, नौबिसे–पालुङ–हेटौंडा र नागढुंगा–मुग्लिन सडकमा सवारी चाप अत्यधिक बढेको छ । संघीय राजधानी आवत जावत गर्नेहरूले विकल्पका रूपमा यिनै सडक प्रयोग गरिरहेका छन । बीपी राजमार्ग तत्काल खुल्न नसक्ने भएकाले दसैंमा समेत यात्रुले सास्ती बेहोर्नुपर्ने देखिएको छ ।
गत साताको बाढीले बीपी राजमार्गको करिब १२ किलोमिटर खण्ड बगाएको थियो । बीपी राजमार्गमा फसेका गाडी निकाल्न डाइभर्सन गरेर सडक खुलाउने काम भइरहेको तर दसैंसम्म सडक तयार हुने अवस्था नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको भनाई छ । शर्माले फूलपाती र अष्टमीमा पनि काम हुन सके सडक खुल्ने झिनो आशा रहेको बताउनु भयो । बीपी राजमार्गको विकल्पमा हेटौंडा, दोलखा, चितवन हुँदै जाने सडक प्रयोग गर्न उपयुक्त हुने शर्माले सुझाउनु भयो ।
सचिव शर्माले राजधानी भित्रिने–बाहिरिने यात्रुका लागि ललितपुरको टीकाभैरव हुँदै जाने कान्ति लोकपथ पनि खुलाउने प्रयास भइरहेको बताउनु भयो । शर्माका अनुसार वाग्मती प्रदेशसँगको समन्वयमा हेटौंडा–भीमफेदी–कुलेखानी फाखेल–फर्पिङ सडक पनि खुलाउने काम भइरहेको छ । उक्त सडक आइतबारसम्म खुल्ने सचिव शर्माको भनाई छ ।
बीपी राजमार्ग हुँदै गुड्ने ठूला सवारीसाधन नागढुंगा–मुग्लिन र सुमो, माइक्रो बस चन्द्रागिरि–चित्लाङ–कुन्छाल र नौबिसे–पालुङ सडक हुँदै हेटौंडा निस्कने गरेका छन । पोखरा, चितवन हुँदै दक्षिण–पश्चिमतिर जाने सवारीसमेत गुड्ने हुनाले नागढुंगा–मुग्लिनमा अत्यधिक चाप छ । सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई नै मुस्किल परिरहेको छ । सो सडक भएर अहिले दैनिक २० हजारभन्दा बढी सवारीसाधन गुडने गरेका छन ।
ओझाका अनुसार नागढुंगा–मलेखु खण्डअन्तर्गत फुर्के खोला, झ्याप्ले खोला, १३ किमि, चारकिलो, नागढुंगा सुरुङको मुख, खत्रीपौवा आसपासमा पहिरो खस्ने जोखिम छ । नागढुंगा–मलेखु खण्डअन्तर्गत महेश खोलामा केही सडक बगेको छ । कृष्णभीरमा करिब ५० मिटर सडक भासिएकाले एकतर्फी यातायात चलाइएको छ ।

नागढुंगा–मुग्लिन सडक दसैंसम्म यस खण्डमा दुईतर्फी यातायात चल्न नसक्ने जानकारी दिनुभयो । यस्तै मलेखुदेखि मुग्लिनसम्मको खण्डमा रातमाटे, शीतलबजार नजिक, मलिंगा, विशाल बजार नजिक, ज्यामिरेघाट, जवाङ खोला, मौवा खोला र घोप्टेभीरमा पहिरोको जोखिम बढी छ । केही स्थानमा कच्ची सडक भएकाले सवारीसाधन चिप्लिने जोखिम पनि छ ।
बाढीले बीपी राजमार्ग र खुर्कोटको पुल बगाएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग र लामोसाँघु–जिरी सडकमा पनि सवारी चाप अत्यधिक बढेको छ । जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्राईका अनुसार बिहीबार ७ सय सवारीसाधनले यो रुट प्रयोग गरेकामा शुक्रबार एक हजारभन्दा बढी गाडी गुडेका छन ।
खोटाङ र भोजपुरका केही भेगका जिप पनि यही सडक भएर गुड्न थालेका छन । मन्थली विमानस्थलबाट लुक्ला जाने पर्यटकले पनि यही रुट प्रयोग गरिरहेका छन । कतिपय पर्यटकले भने लामोसाँघु–जिरी हुँदै सोलु–सल्लेरी सडक प्रयोग गरेका छन । मध्यपहाडी र लामोसाँघु–जिरी सडकमा चाप बढेपछि सवारी जाँच र यात्रुको सहजताका लागि ठाउँठाउँमा ‘हेल्पडेस्क’ राख्ने तयारी थालिएको जिल्ला प्रहरी दोलखाका डीएसपी युवराज खड्काले जानकारी दिनुभयो ।
डीएसपी खडकाका अनुसार चरिकोटको सातदोबाटो, जिरी र उत्तरी क्षेत्रको सिंगटीमा ‘हेल्प डेस्क’ स्थापना भइसकेको छ । बर्दिबासबाट सिन्धुलीको मूलकोट नजिकैसम्म बीपी राजमार्ग सञ्चालनमा छ । दसैंमा घर फर्कने यात्रु बोकेका सवारीसाधनले मूलकोट नजिकै रामेछाप र सिन्धुली जोड्ने सित्खाको मोटरेबल पुल, त्यसपछि खाँडादेवी गाउँपालिका मन्थली, मध्यपहाडी राजमार्गबाट दोलखाको चरिकोट हुँदै अरनिको राजमार्ग भएर आउजाउ गरिरहेका छन ।
हेटौंडाबाट काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडक पनि एक सातादेखि अवरुद्ध छ । डोडारेदेखि कुलेखानी बाँधसम्मको करिब ७ किलोमिटर बाटो बाढीले बगाएकाले यातायात ठप्प भएको हो । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने खण्ड शुक्रबार साँझ फेरि भासिएको छ । पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित खुर्सानी खोलानजिकै सडक भासिएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार करिब २० फिट लामो र ५ फिट चौडा सडक भासिएपछि मर्मत भइरहेको छ ।

नारायणगढ–बुटवल खण्ड भएर दैनिक २० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहर गर्छन् । सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले खाल्डाखुल्डी पुरेर मंगलबारसम्ममा यातायातलाई सहज बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका क्षेत्रमा भने अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन नसक्दा यात्रु अलपत्र परेका छन् । गत बिहीबारको पहिरोले अवरुद्ध सडक खुलाउन नगरपालिकाले प्रयास गरिरहेको छ । हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार बाहुनीडाँडाको कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनिको पहिरो पन्छाइए पनि त्यसभन्दा मुनी डौठेखोला माथिको पहिरो हटाउन नसक्दा सडक खुलेको छैन ।
बाढीपहिरोपछि मेची, भेडेटार–रवि–राँके, तमोर करिडोर, गाईघाट–महुरे–खार्पा–सोलु, अरनिको, त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रबेंसी– रसुवागढी, बुर्तिबाङ–ढोरपाटन सडकका पनि विभिन्न खण्ड अवरुद्ध छन । चाडबाडमा काठमाडौंबाट छुट्ने यात्रुवाहक बस सडकको अवस्था हेरी सुरक्षित र परिस्थिति हेरी उज्यालोमै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ गतेसम्म रोक लगाइएको छ । सडक विभागका अनुसार ३ सय ५८ स्थानमा दुईतर्फी यातायात सेवा सञ्चालनमा छ । ३० स्थानमा भने शुक्रवार साँझसम्म यातायात ठप्प रहेको छ ।














प्रतिक्रिया दिनुहोस्