जनता टाइम्स

२६ आश्विन २०८१, शनिबार १३:३३

दाजुको हातबाट राष्ट्रपति पौडेलले लगाए टीका


काठमाडौँ, असोज २६ । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दशैंको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गर्नुभएको छ ।

सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभयो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गर्नुभएको हो ।

उहाँले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यहरुलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

विजयादशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३:०० बजे देखि ३:३० बजेसम्म विशिष्ट व्यक्तित्वहरु तथा र ३:३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र जमरा लगाइदिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३:३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिने कार्यक्र छ ।

साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि दशैंको टीका र जमरा लगाइदिने कार्यक्रम छ ।

यसैगरी दिउँसो ३:३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।