जनता टाइम्स

३० आश्विन २०८१, बुधबार १६:२९

नेप्सेले सहजै काट्यो २७ सय, दुई दिनमा ७५ अंकले बढ्यो


काठमाडौं, असोज ३० । केही समयदेखि २७ सयमा प्रतिरोध पाइरहेको नेप्सेले यो तह सजिलै पार गरेको छ ।

बुधबार नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा आएको हो । दशैंपछि दुई दिनको कारोबारमा नेप्से परिसूचक ७५ अंकले बढ्न सफल भएको छ । कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार तीन अर्ब ६ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब ६६ करोड रूपैयाँ पुगेको छ। कारोबार रकम ८४ प्रतिशतले बढेको हो ।

कारोबारमा आएका सबै समूहगत परिसूचक बढेपनि व्यापारमूलक समूह, जलविद्युत, बैंकिङ र जीवन बिमा समूहको परिसूचक उच्चले बढेको छ । यी समूहमा १.८० प्रतिशतदेखि ३.४४ प्रतिशतसम्म वृद्धि भएको छ ।

उच्चले मूल्य बढ्ने कम्पनीहरूमा लघुवित्त र जलविद्युत् कम्पनीहरू नै रहेका छन । विजय लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.३३ प्रतिशतसम्म वृद्धि भएको छ । इष्टर्न हाइड्रोपावरको पनि ९ प्रतिशतभन्दा धेरैले मूल्य बढेको छ ।

बुधवार अप्पर स्याङजे हाइड्रोको सेयर मूल्य १० प्रतिशत घटेर सर्किट ब्रेक लागेको छ भने नेपाल फाइनान्स र हिमालयन रि इन्स्योरेन्सको धेरै रकमको सेयर कारोबार भएको छ । बुधवार नेपाल फाइनान्सको १५ करोड नौं लाख र हिमालयन रिको १५ करोड चार लाख रूपैयाँ बराबरको सेयर किनबेच भयो । यसदिन तीन सय २० स्क्रिप्सको कारोबार हुँदा दुई सय ५० को मूल्य बढ्यो र ५४ वटाको मूल्य घटेको छ ।