जनता टाइम्स

३ कार्तिक २०८१, शनिबार ११:३९

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको बेलीब्रिजको निर्माण अन्तिम चरणमा, यसरी हुँदैछ दिनरात काम


सिन्धुली, कात्तिक ३ । असोज ११ र १२ गते आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको सुनकोशी नदीमाथिको बेलीब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सरकारले नेपाली सेनालाई जिम्मा दिएको सो पुलको निर्माण कार्य सेनाले अन्तिम चरणमा पुर्याएको हो । शुक्रबार साँझ पुलको स्थलगत अवलोकनमा पुग्नुभएका वाग्मती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठले निर्माणको काम अन्तिम चरणमा पुगेकोले एक/दुई दिनभित्रै यातायात सञ्चालन हुने जानकारी दिनुभयो ।

नेपाली सेनाले बेलिब्रिज निर्माणको काम शनिवारसम्म सकाएर सवारी साधन सञ्चालन गर्ने योजना बनाएको भएपनि थप केही दिन लाग्ने अवस्था आएको छ । पुल निर्माण गरी सवारी साधन सञ्चालन गर्न सेनाको टोली दिनरात नभनी काम गरिरहेको छ ।

प्रदेश सदस्य श्रेष्ठसँगै पुल निर्माणको अवलोकनमा पुग्नुभएका रामेछापको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले पुलको वारिपट्टि रामेछापको मन्थली नगरपालिका क्षेत्रमा सडक मर्मतको काम भइसकेकोले पुल बन्ने बित्तिकै रामेछाप, दोलखा र ओखलढुङ्गा क्षेत्रबाट सोझै यातायात सञ्चालन हुने बताउनुभयो ।

असोज १२ गतेको बाढीले खुर्कोटको पुलको एउटा स्पान बगाएको थियो । सोही ठाउँमा बेलीब्रिज निर्माणको काम भइरहेको छ । खुर्कोटको पुल नहुँदा अहिले रामेछाप, दोलखा, ओखलढुङ्गा लगायतका क्षेत्रबाट सिन्धुली हुँदै तराइ जाने गाडीहरू सुनकोशीको वैकल्पिक मार्गको रूपमा रहेको सित्खा पुल तरेर आउजाउ गर्ने गरेका छन । त्यस्तै सुनकोशी तरेर बिपीमार्ग हुँदै काठमाडौं आउजाउ गर्ने गाडीले पनि सोही बाटो प्रयोग गर्दै आएका छन ।

 

यसैबीच खुर्कोटको पुल बगाएकै दिन सुनकोशीले बगाएको रामेछापको दक्षिणी भागलाई बिपीमार्गसँग जोड्ने खैरेनीघाटको पुलको निर्माणको विषयमा चासो नदिएको भन्दै स्थानीयले आपत्ति जनाएको रामेछापका पत्रकार प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज पथिकले जनाउनु भएको छ । पत्रकार पथिकका अनुसार एकै दिन बगाएको एउटा पुल बनिसक्दा अर्को पुल निर्माणको विषमयमा कुनै चासो नदेखाएको भन्दै सो क्षेत्रका स्थानीयले आपत्ति जनाएका हुन ।

सिन्धुलीको दुम्जा र रामेछापको राकाथुम जोड्ने खेरनीको पुलको पनि रामेछाप पट्टीको भाग सुनकोशी नदीले बगाएको छ । सो पुल बन्द हुँदा रामेछापको खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिकाका विभिन्न भागबाट काठमाडौं आउजाउ गर्ने स्थानीयलाई समस्या परेको छ । स्थानीयले चाँडो पुल निर्माण गर्न माग गरेको पत्रकार थपिकले बताउनु भयो ।