जनता टाइम्स

५ कार्तिक २०८१, सोमबार १०:४०

नेपाली क्रिकेट टोलीले शान, अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप


टेक्सास (अमेरिका), कात्तिक ५ । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिज क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।

पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल सुपरओभरमा जितेको थियो । आज भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिरिज क्लिनस्वीप गरेको हो ।

अमेरिकालाई हार चखाउने क्रममा नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे । यस्तै अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक/एक विकेट लिए । यसअघि डालसमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन । यस्तै नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक/एक विकेट लिए ।

तीन खेलमा पाँच विकेट लिएका सोमपाल प्लेर अफ द सिरिज बनेका छन । यसअघि लिग–२ का लागि क्यानडामा भएको खेलमा नेपाली टोलीले निराशाजनक प्रदर्शन गरेको थियो । अमेरिका पुगेपछि भने नेपाली खेलाडीले आशालाग्दो प्रदर्शन गर्दै उसकै घरेलु मैदानमा क्लिनस्वीप गरेको छ ।