रामेछाप, ५ जेठ । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले पार्टीका नेता, कार्यकर्ताहरू विधि र पद्धतिमा चल्नु पर्ने बताउनुभएको छ ।
नेकपा एमाले रामेछापको खाँडादेवी गाउँपालिका कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै चौलागाईँले हरेक ठाउँमा समस्या हुने बताउँदै विधि र पद्धतिबाट चल्दा समस्या समाधान हुने बताउनुभयो । ठाउँ अनुसार समस्या फरक भए पनि हरेक ठाउँमा कुनै न कुनै समस्या रहेका उहाँले स्पष्ट पार्नुभयो ।
संगठनमा समस्या हुने भएकाले नै माओले अनुशासनका नियम बनाउनुभएको चौलागाईँले बताउनुभयो । अहिले निर्वाचित जनप्रतिनिधि बेलगमा हुन लागेका बताउँदै उहाँले जनप्रतिनिधिलाई पार्टीको कारणले चुनाव जितेको हो भन्ने कुरा नबिर्सन आग्रह गर्नुभयो । पार्टीले देश भरिका समस्यालाई हेरेर त्यसलाई समाधान गर्न संयन्त्र र विधि बनाएकाले तिनै विधिको प्रयोग गरेर नै समस्या समाधान गर्न सकिने उहाँको धारणा छ ।
चौलागाईँले जहाँ बढी नेता छन् त्यहीँ विवाद हुने बताउनुभयो । ‘नेता धेरै भएको ठाउँमा समस्या हुन्छ, नेताको वरिपरि घुमेर पार्टी बन्दैन, सबैभन्दा माथि पार्टी हुन्छ, पार्टीलाई कमजोर बनाउने हर्कतले कसैलाई बलियो बनाउँदैन’, उहाँले भन्नुभयो ।
उहाँले आपसी आन्तरकलहले सर्वनाश हुने तर्फ सचेत गराउनुभयो । कसैको मुख हेरेर पार्टी नचल्ने चौलागाईँले बताउनुभयो । पार्टी विधि र पद्धति बाहिर जान नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य प्रेम तामाङ, प्रदेश कमिटी सदस्य एवं खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, जिल्ला कमिटी सचिव प्रकाशकुमार कार्की लगायतले बोल्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्