जनता टाइम्स

९ मंसिर २०८१, आईतवार १९:५४

‘शुल्क त तोक्नुपर्छ तर यतिसारो अचाक्लीचाँहि गर्नुहुन्न, निर्णय सच्याइनुपर्छ’


काठमाडौं, मंसीर ९ । दोलखाका कुमार जिरेल आइतवार उत्साहका साथ धरहरा चढन सुन्धारा पगे । भूकम्पले ध्वस्त बनाएपछि निर्माण सम्पन्न भई ठडिएको धरहरा चढन पुग्दा जिरेलमा खुसीको कुनै सीमा थिएन । तर जव चढनका लागि २ सय रुपैयाँ शुल्क भनियो, उनी खिन्न भए ।

आफ्नै देशको धरहरा चढन पनि यति धेरै शुल्क लिएको किन होला भन्ने कुराले उनलाई सतायो । सरकारले नै शुल्क यति धेरै तोकेको सुनेपछि जिरेल देशको नागरिकको चाहनाअनुसार नभएको भन्दैनिर्णय सच्चिनुपर्ने सुझाव दिए । कुमार मात्रै होइन, आइतवार धरहरा चढन उत्साहका साथ पुगेका सवैजसो सर्वसाधरणले धरहरा चढन तोकिएको शुल्क बढी भएको गुनासो गरेका छन । ‘यो शुल्क धेरै भयो । नेपालीलाई नै यस्तो धेरै असुली त गर्नुभएन नि !  सरकारले नेपालीको अवस्था बुझेर सर्वसाधरणको लागि घटाउनु पर्छ । ब्यावसायिक रुपमा आउनेलाई बढाउँदा राम्रो हुन्छ,’ अधिकांशको सुझाव थियो ।

सरकारले सर्वसाधारणका लागि आइतबार देखि सःशुल्क रुपमा धरहरा खुला गरेसँगै मानिसहरूको भीड बढेको छ । परीक्षणका रुपमा निःशुल्क खुला गरिएको धरहरा आइतवार (आज) देखि शुल्कसहित सञ्चालनमा आएपछि धरहरा चढ्नेको भीड लागेको हो । धरहरा चढनका लागि सरकारले स्वदेशीका लागि २ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकलाई ५ सय रुपैयाँ र सार्कबाहेकका विदेशी पर्यटकहरूलाई एक हजार रुपैयाँ शुल्क तोकेको छ ।

धरहरा चढ्दा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने ५० प्रतिशत छुट पाउने ब्यवस्था गरिएको छ । सरकारले धरहरा व्यावसायिक रुपमा सञ्चालन गर्नु स्वागतयोग्य भए पनि चढ्न लाग्ने शुल्क बढी भएको अधिकांश सर्वसाधारणको गुनासो छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई सहुलियत दिएको भन्दै ज्येष्ठ नागरिक भने हर्षित भएका छन ।

 

आयआर्जनका लागि सरकारसँग धेरै विकल्प रहेको बताउँदै उनीहरुले धरहरालाई व्यवसायका रुपमा चलाउन नहुने बताएका छन । ‘धरहरा चढन शुल्क त तोक्नुपर्छ तर यतिसारो अचाक्ली चाँहि गर्नुहुन्न, सरकारले यो कुरा सच्याउनु पर्छ,’ धरहरा चढन पुगेका धादिङका राम कार्कीले भने । त्यस्तै नवलपुरकी सुनिता सापकोटाले सरकारले कम शुल्क तोकेको खण्डमा अझै धेरै सर्वसाधारण चढ्न पाउने सुझाव दिनुभयो ।