जनता टाइम्स

५ जेष्ठ २०८२, सोमबार ०१:१०

ईश्वर पोखरेलद्वारा लिखित पुस्तक ‘आमा-सपना र ताराहरु’लाई हेर्दा…


यो पुस्तकले आमाको संघर्षमय जीवनको व्यथात्मक कथा प्रस्तुत त गरेकै छ, त्यसमा पनि समाजमा नितनुतन परिवर्तनको धारावाहिक इतिहास समेत प्रस्तुत गरेको देखिन्छ जसले अध्ययनकर्तालाई आआफ्नो जीवनजगत, परिवार, समाज, राष्ट्र तथा भौतिक–अभौतिक विचारलाई प्रेषित र सम्प्रेषित गर्न ईंटा थपेको छ । यस्ता कृति पुस्तक मात्र होइन ग्रन्थ कहलिन्छ जो कथमपि अतिशयोक्ति हुँदैहुँदैन 

काठमाडौं, जेठ ५ ।  ‘आमा, सपना र ताराहरु’ पुस्तककार रुपमा पस्कनु भएका नेपाली आकाशका अति महत्वपूर्ण नक्षत्रीय व्यक्तित्व ईश्वर पोखरेल । यो कृति बहुआयामिकता बोकेको ग्रन्थ हो । लेखक वामपन्थी राजनितिक धारका शीखर पुरुष भएता पनि लेखनमा सामाजिक, सांस्कृतिक, आर्थिक, महिला सशक्तीकरण, ग्रामीण परिवेश संयुक्त परिवार, समाजका मुल्य–मान्यता, तथा बाल्यपनमा मुलुकप्रतिको ओज तथा ती परिवेशबाट राजनिति सत्कर्मको अग्रसारित क्रियाकलापहरुलाई वडो मिहिन तवरले ‘जइरसं फुनगीधरि’ जरादेखि टुप्पोसम्मको विविधिकरणको आयामिकता जनमानसमामा शब्दमण्डन गर्न सफल हुनुभएको छ ।

यो पुस्तकको लेखन शैली, भाषा प्रयोग, विचारको प्रस्तुतिकरण, अनुभव, उदेश्य, दृष्टिकोण, भोगाइ, भाव–भंगिमाका साथै उच्च बौद्धिकताको स्पष्ट चित्र र चरित्र कोरिएका छन । यस पुस्तकमा कभर पेजबाहेक १३९ वटा पृष्ठ रहेका छन । यस पावन पुस्तकका प्रकाशक साङ्गग्रिला मिडिया ग्रुप प्रालि, काठमाडौ रहेको छ भने भुमिका लेखन नेपालका प्रथम महिला राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीको रहेको छ । पुस्तकमा लेखकीय बाहेक पच्चीस वटा अध्याय रहेका छन ।

यी अध्यायहरुमा प्रारम्भ, माइती र घरमा आमा, पीडादायी घरायसी अवस्था, बाको निधन, बाको निधनपछिका चुनौती, रुपनालु, रुन्जाटार र आमा, आमासित छुट्टिनुपर्दा.., मान्खा स्कुलमा एक बर्ष विद्यार्थी जीवन र राजनितिमा प्रवेश, कम्युनिस्ट पार्टीको पुर्णकालीन राजनिति, मैले घर छोडेपछि आमाको अवस्था, भुमिगत अवस्थामा आमासित भेट, लुक्तैछिप्तै आमासंग भेट्न जाँदा, भोकले तड्पिदा, गिरफ्तारी जेलजीवन र आमा, चिनियाँ भुमिमा आमाको सम्झना, आमाले बुहारी भेट्दा,उमेर ढल्कदै जाँदा आमाको पिरलो, सन्तान गुमाउँदाको पीडा, मलाई बचाउने औतारी लामा, पुरेतको प्रवृत्तिबाट पीडित आमा,पहिलो पटक माइतीघर, आँखा दान गर्ने आमा र डा. रुइत, आमाको स्वभाव र आमा लगायतका कालजयी अध्याय हुन । पुस्तकको प्रारम्भ नै आमाको अलौकिक शब्द चित्रणबाट भएको छ जसमा :

आमाको काखमा बस्ने हुँदा
मैले ताराहरु देखें –
आकाशमा टिमटिमाइरहेका ताराहरु ।
….
आमाको काखबाट झरेर
टुकुटुकु हिड्न थालेपछि
अनगन्ती ताराहरु गन्न सिकें ।
….
थाकेको छैन
ताराहरु गन्ने मेरो अभियान
अझै जारी छ आमाको सम्झनामा ।

यी माथिका पद्यात्मक भावले आमाप्रतिको स्नेह र दायित्वबाट लेखक पुर्णरुपेण कर्तव्यबोधात्मक अवस्थाको सृजना भएको छ भने विविधता शब्द र भाव विन्यासअर्पण गर्न सफल हुनु भएको छ ।

अध्यायहरुको अध्ययन गर्दा

यो लेखकको संस्मरणात्मक कृति हो र यसले आमासँगको सम्बन्ध र नेपाली समाजको परिवर्तनशील इतिहासलाई समेटिएको छ । लेखकका शब्दहरुले पाठकलाई भावनात्मकरुपमा छोएको छ सोच्न बाध्य गरेको छ समाज, संस्कार र राजनितिक परिदृष्टीलाई । लेखकको आमाप्रतिको सम्मान आमाको जीवन, कठिन संघर्ष र त्याग विधवा जीवनको कठिनतम व्यथा, आर्थिक दुराबस्थाका साथ समाजमा महिलाको भुमिकालाई अतिसम्वेदनशीलताका साथ पाठक समक्ष पस्केको देखिन्छ ।

लेखनी प्रकृया गद्य कविताबाट शुरु भएको छ भन्ने मुटुको चाललाई वेगित र बेधित गरेको छ । लेखकले आमासंगको बाल्यकाल,बिद्यार्थी जीवन, भुमिगत कम्युनिस्ट राजनितिक यात्रा, आमाको अन्तिम दर्शन, आँखा दान जस्तो पवित्र कार्य जसले समाजलाई परम्परागत सोचबाट प्रगतिशील परिवर्तनको रुप र स्वरुप निर्घारण गरेको छ । यसका साथै विश्वमा राजनितिक परिवर्तन मात्र होइन जलवायु परिवर्तनको असर र त्यसले निम्त्याएका बसाइँसराइ जस्ता समस्या इंगित गरेको छ । आमाको जीवित मात्रै होइन, पितृहरुप्रतिको सम्मानले पाठकहरुको मन छोएको छ ।

निष्कर्षमा हेर्दा

पोखरेलको यो कृतिले किर्ति स्थापित गर्न सफल भएको छ जनमानसको विचार पटलमा । यो वास्तविक आत्मकथाले आमाहरूको त्यागतपस्या,जीवन समर्पण परिवार र समाजप्रति कस्तो हुन्छ सोको प्रेरणा पस्कन सफल भएको छ । यो पुस्तकले आमाको संघर्षमय जीवनको व्यथात्मक कथा प्रस्तुत त गरेकै छ, त्यसमा पनि समाजमा नितनुतन परिवर्तनको धारावाहिक इतिहास समेत प्रस्तुत गरेको देखिन्छ जसले अध्ययनकर्तालाई आआफ्नो जीवनजगत, परिवार, समाज, राष्ट्र तथा भौतिक–अभौतिक विचारलाई प्रेषित र सम्प्रेषित गर्न ईंटा थपेको छ । यस्ता कृति पुस्तक मात्र होइन ग्रन्थ कहलिन्छ जो कथमपि अतिशयोक्ति हुँदैहुँदैन ।