जनता टाइम्स

४ जेष्ठ २०८२, आईतवार १८:४५

तीन वडाध्यक्षले गरे बालेनले दिएको जिम्मेवारी अस्वीकार


काठमाडौं, जेठ ४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिएको जिम्मेवारीलाई ३ जना वडाध्यक्षले अस्वीकार गरेका छन

कार्यपालिकाले निर्णय नगरेको भन्दै उहाँहरूले जिम्मेवारी लिन अस्वीकार गर्नुभएको छ। मेयरलाई संयुक्त निवेदन दिँदै उहाँहरूले विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्थामा उपयुक्त नदेखिने बताउनुभएको छ ।

बालेनले सुशासन समितिको संयोजक तोकेका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समिति संयोजक तोकिएका वडाध्यक्ष २४ का अध्यक्ष विनोद राजभण्डारीले जिम्मेवारीमा बस्न अस्वीकार गर्नुभएको हो।

तीनै जनाले सामूहिक निवेदनको बोधार्थ उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृतलाई दिनुभएको छ ।

‘मिति २०८२।०२।०१ गतेको पत्रमार्फत हामी तपसिलका नगर कार्यपालिकाको सदस्यहरूलाई काठमाडौं महानगरपालिका नगर कार्यपालिका ९कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ उपनियम (१) बमोजिमको विषयगत समितिका संयोजकको जिम्मेवारी तोकिएको व्यहोरा जानकारी हुन आएकोमा उक्त तोकिएको जिम्मेवारीको विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारीहरु कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले, उपयुक्त नदेखिने हुँदा तत् तत् तोकिएको जिम्मेवारीमा नरहने व्यहोरा श्रीमान् प्रमुखज्यूसमक्ष संयुक्त रुपमा जानकारीको लागि अनुरोध गर्दछौं’, उहाँहरूले लेख्नुभएको छ ।

विधायन समितिकी संयोजक तोकिएकी १६ नम्बर वडाकी अध्यक्ष रोजिना श्रेष्ठले भने उक्त निवेदनमा हस्ताक्षर गर्नूभएको छैन । श्रेष्ठ रास्वपाबाट उपचुनावमा वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।