काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश र जनताको हितको लागि दुई ठुला राजनीतिक दल मिलेर सरकार बनाएका बताउनुभएको छ ।
आइतबार लमजुङको बेँसीसरहमा नेकपा एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले अहिलेको सत्ता गठबन्धन सामान्य कुरालाई लिएर नटुट्ने बताउनुभयो । ‘देश र जनताको हितका लागि दुई पार्टीको गठबन्धन सरकार बनेको हो, कांग्रेस वा एमालेबाट बेइमान भएमा मात्रै गठबन्धन टुट्ने हो नत्र पूरा अवधिसम्म दुई पार्टीको समीकरण रहन्छ’, उहाँले भन्नुभयो ।
सरकार ढल्छ, टिक्दैन भनेर हल्ला फैलाउने गरिएको बताउँदै सरकार सञ्चालनमा त्यस्तो कुनै समस्या नरहेको बताउनुभयो । यसअघि पनि पटक पटक विभिन्न कालखण्डमा कांग्रेस-एमाले मिलेर अघि बढेर देशलाई संकटमा जानबाट जोगाउने काम गरेका उहाँले स्मरण गराउनुभयो । ‘यस पटक पनि स्थिर सरकार र विकासको चाहना पूरा गर्न दुई पार्टी एक ठाउँमा आएका हौँ, सोहीअनुसार काम गर्नुपर्छ’, पोखरेलले भन्नुभयो ।
एमाले क्षणिक सोच र रमाइलो लागि बनेको पार्टी नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘निरन्तर क्रियाशील हुने र धैर्य गर्न सक्ने क्षमता भएका व्यक्ति मात्रै एमालेमा टिक्छन्, अवसरवादी व्यक्तिहरू अवसरको खोजीमा सबैतिर चहार्दै हिँड्छन्’, उहाँले भन्नुभयो ।
पोखरेलले मुलुक समृद्ध बनाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउनुभयो । त्यसमा पार्टी नेता, कार्यकर्ताको योगदान जरुरी रहेको उहाँको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्