जनता टाइम्स

९ मंसिर २०८१, आईतवार २०:१७

‘अमाचकारी पण्डित’ दुर्गालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं, मंसीर ९ । मुख छाडने र अफवाह फैलाउने कारखाना चलाएर चर्चामा आउनु भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

न्यायाधीश कमला पौडेलको इजलासले आइतबार प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अफवाह फैलाउने र अर्काको चरित्र हत्या गर्ने कारखाना चलाउनु भएका प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीकै नाममा फेक डकुमेन्ट बनाएर अफवाह फैलाएपछि प्रहरीले साइबर अपराधमा पक्राउ गरेको हो ।

प्रहरी हिरासतमा रहनुभएका प्रसाईंले स्वास्थ्य समस्या देखाएर दिएको निवेदनमा न्यायाधीश पौडेलको इजलासले उपचारका लागि अनुमति दिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार, प्रसाईलाई विशेषज्ञ उपचार गराउन आदेश भएको छ । यससँगै प्रसाई अस्पताल भर्ना हुने बाटो खुलेको छ ।

प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा प्रसाईंमाथि अनुसन्धान गरिरहेको छ । ब्युरोले अनुसन्धानका लागि थप १० दिन मागेको थियो । मंसिर ४ भक्तपुरस्थित निजी निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध ब्युरोले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम्युनिकेसन कम्पनीमा लगानी गरेको दाबीसहित प्रसाईंले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेपछि पक्राउ गरिएको हो । सोही कसुरमा प्रसाईविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएर पक्राउ गरेको थियो ।

यसअघि पनि पटक पटक पक्राउ परेर माफी माग्दै छुटने गर्नुभएका प्रसाई पछिल्लो समय ‘आमाचकारी पण्डित’ बनेर मनपरी बोल्ने र शतप्रतिश झुटो अफवाह फैलाउने अभियानमा लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।