काठमाडौं, कात्तिक ४ । नेवार समुदायले राष्ट्रिय पञ्चांग अर्थात् पात्रो बहिष्कार गरेको छ । तिहारमा नेवार समुदायले मनाउने स्वन्तिः को तिथि बिगारेको भन्दै सो समुदायले पात्रो बहिष्कार गरेको हो ।
नेपाल राष्ट्रिय पञ्चांग निर्णायक समितिले ०७६ को तिहारमा पर्ने म्हःपूजा र नेपाल संवतलाई बेग्लाबेग्लै दिनमा राखेको छ । जबकि यी दुवै एकै दिन सम्पन्न गर्नुपर्ने नेवारी परम्परा रहीआएको छ । तिथिलाई लहरै उल्लेख नगरी टुटाएमा व्यावहारिक पक्षमा धक्का लाग्ने गर्छ । यसपालिको तिहारमा यस्तै भएको छ । यमपञ्चक भनेकै पाँच दिन मनाउने पर्व हो । घडी र पला हेरेर समितिले तिहारलाई चार दिनमा समेटेको छ । मौलिक पर्वहरूमा सिद्धान्तभन्दा व्यावहारिक पक्ष हेर्नुपर्ने संस्कृतिविदहरु बताउँछन । समितिले बनाएको पात्रोमा यमपञ्चकका रूपमा मनाइने तिहारको पहिलो दिन कात्तिक ९ गते काग तिहार परेको छ । १० गते कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन पर्न गएको छ भने ११ गते म्हःपूजा र १२ गते गोवर्धन पूजा, नेवार समुदायको न्हु दँ (नयाँ वर्ष) अर्थात् नेपाल सम्वत ११४० र भाइटीका परेको छ ।
पात्रोमा उल्लेखित यो तिथि नेवार समुदायले मनाउने स्वन्ति पर्वसँग मेल खाँदैन । पात्रोमा औंसीका दिन म्हःपूजा राखिएको छ । जबकि नेवार समुदाय कछलाथ्व प्रतिपदाका दिन बिहान ‘न्हु दँ’ को रूपमा नेपाल सम्वत मनाउँछन् भने साँझ आत्मपूजा गर्ने भन्दै म्हःपूजा गर्छन् । नेवार समुदायको व्यावहारिक पक्षलाई हेर्ने हो भने पात्रोमा उल्लेखित ११ गतेको म्हःपूजा १२ गते मंगलबार मनाउनु पर्ने हुन्छ । पात्रोअनुसार तिहार मनाउन कठिन भएपछि नेवारहरूको प्रतिनिधिमूलक संस्था नेपालभाषा मंकाः खलले समितिबाट प्रकाशित पात्रोका आधारमा तिहार नमनाइ नेवारी परम्पराअनुसार ‘स्वन्ति’ मनाउन स्थानीयलाई आह्वान गरेको छ ।
मंकाः खलका सचिव नरेशवीर शाक्यका अनुसार पञ्चांग समितिले घडी र पला हेरेर तिथि तय गर्दा धेरै पर्व एकैदिन पर्न गएको छ जुन व्यावहारिक छैन । ‘यसपालि औंसीका दिन म्हःपूजा छ । इतिहासमा यस्तो कहिल्यै भएको थिएन,’ सचिव शाक्यले भन्नुभयो । ११ गते म्हःपूजा राख्दा नेपाल संवत ११३९ मै दुई पटक म्हःपूजा हुन जानुले पात्रोमै गल्ती भएको उहाँको भनाई छ । पात्रोमा विवाद निस्किएसँगै नेवार समुदायले यस वर्षको भाइटीका १२ गते नभएर १३ गते बुधबार मात्र मनाउने निर्णय गरेका छन् ।
नेवार समुदायले यस वर्षको तिहारमा १० गते भनिएको लक्ष्मी पूजा ११ गते मनाउने छन् । र १२ गते नेपाल सम्वत् र म्हपूःजा मनाउने भएका छन् । पात्रोको विवाद सल्टाउन र १३ गते नेवार समुदायलाई सार्वजनिक बिदा दिन नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बिहान भेट गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेश सभा सदस्य अजयक्रान्ति शाक्यसहितका जनप्रतिनिधिले प्रधानमन्त्री ओलीसँग भेट गरी कात्तिक १३ गते बिदा दिन माग गर्नुभएको हो । यस विषयमा क्याबिनेटमा छलफल गरी निर्णय गर्ने जनाउ प्रधानमन्त्री ओलील दिनुभएको छ । ‘प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ,’ भेटपछि नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य श्रेष्ठले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्