जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार ०७:२३

आफताब आलम प्रकरणः विस्फोटपछि शव तथा घाइते इँटाभट्टामा ओसार्ने ट्रयाक्टर भेटियो


 

काठमाडौं,   ५ कात्तिक ।  २०६४ चैत २७। दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्। ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन। उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ भन्दै चुनावको प्रचारप्रसारमा सलग्न हुन भन्छन्। ती नेताजी अरु कोही नभई काग्रेस नेता मोहम्मद आफताव आलम हुन्।

श्रीनारायणका लागि, जो अहिले ७० वर्ष नाघिसकेका छन्, आफ्नो २२ वर्षीय छोरालाई चुनावी अभियानमा संलग्न गराउने निर्णय गर्न सजिलो थिएन। उनी अन्योलमा थिए। चुनावका लागि केही घण्टा मात्र बाँकी थियो। स्थानीय कांग्रेस नेतृत्व मतदातालाई आकर्षित गर्न भरमग्दुर प्रयासमा थियो। सुरुमा उनले छोरो त्रिलोकलाई चुनावमा संलग्न गराउन आनाकानी गरे पनि कांग्रेस नेता आलमकै जोडबलमा अन्ततः चुनाव प्रचारप्रसार टिममा सहभागी हुने अनुमति दिए। यसरी आलमकै दबाबमा गाउँमा पिन्टु भनेर चिनिने त्रिलोकप्रताप चुनावी प्रचारप्रसारमा सहभागी भए।

त्रिलोकका पिता श्रीनारायणलाई धेरैपछि मात्र थाहा भयो कि उनका छोरालाई चुनावी बुथहरु र प्रतिपक्षी उम्मेदवारका घरमा बम बिस्फोट गर्ने अभिप्रायले बम बोक्ने कामका लागि प्रचासप्रसार टिममा समावेश गराइएको रहेछ। बम बिस्फोट गराएर मतदातामा डर पैदा गर्ने र बुथ कब्जा गर्ने नियत आलमको थियो।

बम बनाउने काम स्थानीय शेख इन्डियासको गोठमा गरिएको थियो। पिन्टुसहित अर्का युवा ओसी अख्तरलाई यो काममा संलग्न गराइएको थियो। त्यो टिममा सहभागी भएपछि त्रिलोकसँगै अख्तर पनि कहिल्यै घर फर्केनन्।

१२ वर्षअघि भएको हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका निलम्बित सांसद मोहमम्द आफताब आलमलाई प्रहरीकै सहयोग रहेको खुलेको छ ।

प्रहरीकै सहयोगमा आलमले २७ चैत २०६४ मा बम बिस्फोटमा परी मृत्यु भएका र घाइतेहरुलाई ईटाभट्टाको आगोमा झोसेर हत्या गरेको तथ्य खुलेको हो । घटनापछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोली घटनास्थल पुगेको थियो ।

आलमले बम बिस्फोटको प्रमाण नष्ट गर्न मृतक र घाइतेहरुलाई जलाएर मारेको त्यसबेला प्रत्यक्षदर्शीहरुले इन्सेकको टोलीलाई बताएका थिए ।

बम बिस्फोट भएको राजपुर फरहदवा गाउँबाट ईटाभट्टासम्म मृतक र घाइतेहरुलाई लैजान ट्याक्टरको अघि–पछि प्रहरीले स्कटिङ गरेको इन्सेकको रिपोर्टमा उल्लेख छ । अध्ययनका क्रममा प्राप्त प्रत्यक्षदर्शीको बयानअनुसार, मृतक र घाइतेहरु बोकेको ट्याक्टर पछाडिको गाडीमा भने कांग्रेस उम्मेदवार आलम समेत थिए ।

ती प्रत्यक्षदर्शीले भनेका छन्, “ट्याक्टरमा घाइतेहरुलाई राखी चिम्निमा लगे, घाइतेहरू रुँदै थिए । त्यो देखेपछि म त्यहाँबाट भागे।”

२०६४ संविधानसभा निर्वाचनमा रौतहट–२ बाट उम्मेदवार बनेका आलमले बुथ कब्जा गर्न बम बनाउन टोली नै परिचालन गरेका थिए । तर, बम बनाउने क्रममै बिस्फोट हुन पुग्यो ।

दुई जनाको घटनास्थलमै मृत्यु भयो । यसपछि मृतक र घाइतेहरुलाई आलमकै आफन्तको ईटाभट्टामा लगेर जलाइएको आरोप आलमलाई लगाइएको छ ।

स्थलगत अध्ययनमा घटनास्थल पुगेका इन्सेकका मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतम प्रहरीकै सहयोग लिएर आलमले प्रमाण नष्ट गरेको बताउँछन् ।

“हामी स्थलगत अध्ययनमा जाँदा हामीमाथि समेत आक्रमणको प्रयास भयो, घटनाको प्रकृती र प्रहरीले तत्कालीन समयमा व्यक्त गरेका भनाईले समेत आलम र प्रहरी बीच मिलेमतो देखिन्छ”, गौतम भन्छन् ।

एक उच्च प्रहरी अधिकारी पनि प्रमाण नष्ट गर्न प्रहरी नै सहयोगी बनेको बताउँछन् । “त्यतिवेला कोही बोल्न सक्ने अवस्था थिएन, तत्कालीन स्थानीय प्रहरी नेतृत्व सहयोगी बनेको देखिन्छ”, उनी भन्छन् ।

गत असोज २६ गते राजपुरबाट जिल्ला सदरमुकाम गौर आउने क्रममा पक्राउ परेका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री आलमविरुद्ध अहमदले दर्ता गराएको कर्तव्य ज्यान तथा विष्फोटन पदार्थसम्बन्धी प्रहरी प्रतिवेदनको आधारमा कारवाही प्रक्रिया अघि बढिरहेको छ । यसअघि २०६५ वैशाख १८ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको श्रीनारायण सिंह राजपुत तथा रुक्साना खातुनको जाहेरी आधारमा आलमलाई पक्राउ गरिएको हो ।

असोज २६ गते पक्राउ गरी जिल्ला अदालतबाट सात दिन थुनामा राखी घटनाको अनुसन्धान गर्ने म्याद पाएको प्रहरीले आइतबार थप चार दिनको लागि म्याद थप गराएको छ ।

प्रथम संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बम बनाउने क्रममा भएको विष्फोटमा घाइते भएर पनि ज्यान जोगाउन सफल सर्लाही, गोरैता नगरपालिका –२ निवासी सफी अहमदले पनि आलम विरुद्ध जाहेरी दर्ता गराएका छन् । पेटको विभिन्न भागमा बमको छर्रा लागेर घाइते भएका अहमद घटना ढाकछोप गर्न जिउँदालाई समेत इँटा पकाउने भट्टीमा हाल्ने योजना बनिरहँदा भागेर ज्यान जोगाएका हुन् ।

भारत, बिहारको मोतिहारीमा गएर चार लाख रुपैयाँ खर्च गरी करिब साढे तीन महिनासम्म उपचार गराएका अहमद पक्राउ पर्नुअघिसम्म आलमविरुद्ध बोल्ने हिम्मत गर्न सकेका थिएनन् । आलम पक्राउ परेको केही दिनपछि अहमद आफैँ जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेर उनीविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी जाहेरी दर्ता गराएको प्रहरीले जनायो ।

बम विष्फोटनमा ज्यान गुमाउने यमुनामाई नगरपालिका –४ का पिन्टुका बाबु श्रीनारायण र ओसी अख्तरकी आमा रुक्साना खातुनले घटनालगत्तै आलम विरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले उनीहरुको जाहेरी अस्वीकार गरिदिएपछि हुलाकमार्फत दर्ता गराइएको श्रीनारायण सिंहले बताए ।

शव तथा घाइते ओसार्ने ट्रयाक्टर पनि भेटियो

मृत्यु तथा घाइते भएकाहरुलाई रातारात इँटाभट्टामा पुर्‍याउन प्रयोग गरिएको ट्रयाक्टर सोमबार प्रहरीले बरामद गरेको छ । ना १ त ६४७२ नम्बरको उक्त ट्रयाक्टर घटनाको प्रमाण मेटाउने योजना अन्तर्गत नै अफतावका भाई महताव आलमले २०६७ असार २३ गते अर्कालाई बेचिदिएका रहेछन् । २०५७ जेठ २४ गते महतावकै नाउँमा खरिद भएको सोही ट्रयाक्टरमा बम विष्फोटमा परेकाहरुलाई हालेर इँटाभट्टामा लगिएको थियो ।
इँटाभट्टासमेत घटनासँग जोडिएका अन्य सबै प्रमाण नष्ट गरिसकेपछि गाउँमा ट्रयाक्टरको चर्चा हुन थालेपछि त्यसलाई पनि बेचिदिएको प्रहरीले जनायो । रौतहट, देवाहीगेनाही नगरपालिका – २ करुनीया निवासी उमाशंकर साहको नाउँमा कायम गरिएको ट्रयाक्टर नम्बर प्लेट मेटेर प्रयोग गरिदै आएको थियो । सोमबार साहकै घरबाट उक्त ट्रयाक्टर बरामद गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।