जनता टाइम्स

१९ मंसिर २०८१, बुधबार ०९:४१

उपनिर्वाचन परिणामपछि जिम्मेवार नेता र जनप्रतिनिधिप्रति कठोर देखियो एमाले नेतृत्व, महासचिवले गरे प्रष्टै संकेत


काठमाडौं, मंसिर १९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताको वरपर गफ लगाएर प्रभाव देखाउने र जनताबाट टाढा रहेका नेतादेखि जनप्रतिनिधिसम्म पार्टीको निगरानी र निसानामा परेको संकेत गर्नुभएको छ ।

स्थानीय तहको उपनिर्वाचनको परिणामपछि महासचिव पोखरेलले यस्तो संकेत गर्नुभएको हो । महासचिव पोखरेलले यस पटकको निर्वाचनमा पहिले जितेका सिटमा देखिएको परिवर्तन आश्चर्य जनक आएको बताउनु भएको छ ।

स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पोखरेलले विगतमा जितेका स्थानमा प्रमुख राजनीतिक दलले चुनाव नजित्नुले जनप्रतिनिधिहरूको काम प्रतिको असन्तुष्टि व्यक्त भएको उल्लेख गर्नुभएको छ ।

‘नेकपा एमालेले विगतमा जितेका सात वडाध्यक्ष मध्ये एक सिट मात्र कायम राख्न सक्यो, नेकपा माओवादी केन्द्रले विगतमा जितेका ६ वडाध्यक्ष मध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाउन पुग्यो, नेपाली कांग्रेसले एक वडाध्यक्षमा एक र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाउन पुग्यो, यसबाट जनप्रतिनिधिको भूमिका प्रति स्थानीय जनता सन्तुष्ट नभएको देखिन्छ, यसबाट जनप्रतिनिधिहरूले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ’, उहाँले लेख्नु भएको छ ।

उपचुनावको परिणाममा नेकपा एमाले तेस्रो भनेर गरिएको प्रचारमा पनि पोखरेलले टिप्पणी गर्नुभएको छ । अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिए पनि चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्ष त्यो भन्दा भिन्न रहेको उहाँको ठहर छ ।

उपचुनाव भएका ४४ सिटमा नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा दुई जिल्ला समन्वय समिति प्रमुख, तीन पालिका प्रमुख तथा अध्यक्ष र तीन पालिका उपप्रमुख तथा उपाध्यक्षका साथै बाँकी वडाध्यक्ष थिए । यसै गरी नेकपा माओवादी केन्द्रले विगतमा जितेका आठ सिटमा दुई उपाध्यक्ष र ६ वडाध्यक्ष थिए ।

नेकपा एमालेले विगतमा चुनाव जितेका सात वडाध्यक्षको सिटमा उपचुनाव भएको थियो । चुनावको परिणामलाई त्यसकै सेरोफेरोमा विश्लेषण गर्नु पर्ने उहाँको धारणा छ ।
चुनावी परिणामका हिसाबले समग्रतामा नेपाली कांग्रेसले कीर्तिपुरको मेयर सहित १६ वडाध्यक्ष जितेको र जिल्ला समन्वय समिति प्रमुख दुवै सुरक्षित गरेको छ । कांग्रेसले दुई अध्यक्ष र तीन उपप्रमुख र उपाध्यक्ष गरी पाँच पदाधिकारी तथा तीन वडाध्यक्ष गुमाएको गुमाएको उहाँले उल्लेख गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रले एक अध्यक्ष, एक उपाध्यक्ष र एक वडाध्यक्ष थप्न सफल भएको भए पनि माओवादीको जितमा विगतको चुनावमा नेपाली कांग्रेससँंगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सिट पनि सामेल भएको पोखरेलको दाबी छ । यद्यपि कोशी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको पोखरेलको विश्लेषण छ ।

नेकपा एमालेले विगतमा सात वडाध्यक्ष जितकोमा यस पटकको उपनिर्वाचनमा एक अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्ष जितेको उल्लेख गर्दै उहाँले गुमेका दुई वडाध्यक्षका ठाउँमा एक गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्ष सहित तीन पदाधिकारी जित्न सफल भएको पोखरेलले टिप्पणी गर्नुभएको छ । ‘यस हिसाबले नेकपा एमालेका लागि पनि निर्वाचनको परिणाम सुधार उन्मुख नै देखिन्छ’, पोखरेलले लेख्नु भएको छ ।

यति हुँदाहुँदै पनि नेकपा एमालेका स्थानीय कमिटीको योजना र अपेक्षा अनुरूप भने चुनावी परिणाम आउन नसकेको पोखरेलले स्विकार्नु भएको छ । ‘विशेष गरी राजधानी काठमाडौंमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पुरा हुन सकेन, अझै पनि सहरी क्षेत्रका मतदाताको झुकाव मूलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिँदैन, त्यसमाथि पछिल्लो समयमा सामाजिक सञ्जालमा भएको नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।