बनेपा, कात्तिक ६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने सरकारको बटमलाइन सुनाउनु भएको छ । लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै यस्तो बटमलाइन सुनाउनु भएको हो ।
‘मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुर्ब्यवहार गर्ने, गाउँले र महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न, कुनै कसरत बाँकी नराखी कानूनी कठघरामा उभ्याइन्छ, सजाए दिलाइन्छ,’ सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले अहिलेको सरकारले अघि बढाएको विधिको शासनमा जो–कोहीले पनि उन्मुक्ति नपाउने ठोकुवासमेत गर्नुभयो । मन्त्री बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरणबारे मिडियाले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
‘सामाजिक क्षेत्रले पनि यसविरुद्ध आवाज उठाउनुपर्छ, सबै मिलेर अपराधीकरण र भ्रष्टिकरण न्यूनीकरण गर्दै जाने हो,’ सञ्चारमन्त्री बाँस्कोटाको भनाई थियो । सरकार भ्रष्टाचारविरुद्ध निर्मम तवरले लागिरहेको भन्दै सुशासन कायम गर्ने यस अभियानमा सघाउन उहाँले अपिलसमेत गर्नुभयो । मन्त्री बाँस्कोटाले चुनावको वाचाअनुसार जनप्रतिनिधि अगाडि बढिरहेको जानकारी पनि दिनुभयो । ‘कहीँकतै जनप्रतिनिधि चुकेको भए खबरदारी गर्नुस, तपाईहरु साथ दिनोस, जनप्रतिनिधि के–के काम गर्दैछन् अनुगमन गर्न पनि आग्रह गर्छु,’ बाँस्कोटाको भनाई थियो ।
उहाँले चुनाव जित्नु मात्रै ठूलो विषय नभएको उल्लेख गर्दै ‘चुनावदेखि चुनावसम्मको राजनीति’ राजनीति नभएको ठोकुवा गर्नुभयो । मन्त्री बाँस्कोटाले सकारात्मक परिवर्तनका लागि जनताको साथको आवश्यकतासमेत औंल्याउनु भयो । प्रकृतिको बचाउसँगै विकास र प्रकृतिसँग अन्तरघुलन हुन पनि मन्त्री बाँस्कोटाले आग्रह गर्नुभयो । सो अवसरमा मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गबारे चीनसँग सम्झौता भइसकेको र पूर्वी अन्तर्राष्ट्रिय नाकाको रुपमा रहेको बनेपामा थप विकासका काम थालिने प्रतिवद्धता पनि जनाउनु भयो । मन्त्री बाँस्कोटाले लायन्स क्लबको नीति र कार्यबिधि हेरेपछि मात्रै आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले जिससले लायन्सको अभियानमा साथ दिने बताउनुभयो । बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादेले लायन्सलाई बनेपामा आठ आना जमीन दिइएको र थप एक रोपनी दिने तयारी भइरहेको बताउनुभयो । लायन्स क्लबका संस्थापक रामराजा धौभडेल र परियोजना प्रमुख सुदर्शनधर प्रधानाङले परियोजना र प्राप्त सहयोगबारे जानकारी दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्