जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार १८:५१

प्रधानमन्त्री ओली दोहामा, आजै बाकुतर्फ प्रस्थान गर्दै


कतार, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा जानेक्रममा दोहा आइपुग्नुभएको छ । भोलि र पर्सि (कात्तिक ८ र ९ गते ) हुन गइरहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानतर्फ लाग्नुभएको हो । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ ।

दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई नेपालका लागि कतारका राजदूत डा नारदनाथ भारद्ववाज वाग्ले र नेपाली दूतावासका अन्य वरिष्ठ अधिकृतहरुले स्वागत गर्नुभयो । करीब दुई घण्टाको विश्रामपछि प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डल बाकुका लागि नेपाली समयअनुसार रातिको ८ बजे प्रस्थान गर्नेछ । दोहाबाट बाकुको उडान समय २ घण्टा ५० मिनेट रहेको छ ।