जनता टाइम्स

२ माघ २०८१, बुधबार १३:१६

शुभस्वस्तिकमा सुत्केरी हुँदा पाउँछन प्रमाण– पत्र


बर्दिवास, २ माघ । शुभस्वस्तिक हस्पिटलले सो हस्पिटलमा प्रशुती हुन आउनेलाई प्रमाण–पत्र दिएर सम्मान गर्ने गरेको छ । यसरी प्रमाणपत्र दिने शुभस्वस्तिक मधेश प्रदेशकै पहिलो हस्पिटल बनेको छ ।

हस्पिटलमा सुत्केरी भएपछि विदाई (डिस्चार्च) हुने समयमा नवजात शिशुको जन्म मिति, समय खुलेको, शिशु र आमाबुवाको फोटोसमेत राखेर फ्रेमिङ गरिएको प्रमाणपत्र दिएर विदाई गर्ने गरिएको सञ्चालक दिपक कार्कीले बताए । यस्तो प्रचलन शुभस्वस्तिकले एक वर्ष पहिलेदेखि चलाए पनि शनिबार सम्पन्न १५ औं वर्षीकोत्सवमा सार्वजनिकीकरण गरिएको हो ।

१५ औं बार्षिकोत्सवमा प्रकाशित स्मारिकामा हस्पिटलले यस बारे जानकारी दिदैं विगत एक वर्षमा सो हस्पिटलले ५७३ जनालाई प्रशुती सेवा दिएको उल्लेख गरेको छ । यी मध्ये सो अवधिमा २७३ जनालाई सफल शल्यक्रियाद्वारा प्रशुती गराइएको स्मारिकामा उल्लेख छ । शल्यक्रियाकै कुरा गर्दा सो हस्पिटलले हाडजार्नेी तथा नशासम्वन्धि शल्यक्रिया ४३९ जनालाई र इपेन्डिक्सलगायतका सामान्य शल्यक्रिया ५८५ जनालाई दिइसकेको सञ्चालक दिपक कार्की बताउँछन् ।

१५ वर्षअघि एउटा कोठामा पोलीक्लिनिकका रुपमा स्थापित शुभस्वस्तिक अहिले १०० शैयाको अस्पतालकारूपमा बर्दिवास्थित पूर्वपश्चिम राजमार्ग किनारमै आफ्नै भब्य विल्डिङमा सरेको छ । मधेशकै नमुना हस्पिटलको रूपमा विकसित यस हस्पिटलले स्थापनाकालदेखि गत असोजसम्ममा तीन लाख बढीलाई विभिन्न रोगको उपचार सेवा दिएको स्मारिकामा जनाइएको छ । स्मारिकामा उल्लेख भएअनुसार हस्पिटल पूर्वपश्चिम महेन्द्रराजमार्ग छेउमा आफ्नै बिल्डिङमा सरेपछि विरामीको संख्या ह्वात्तै बढेको छ ।

यस भेगमा हुने राजमार्गको सवारी दुर्घटनामा हस्पिटलले मानवीयता पनि देखाउने गरेकोमा बार्षिकोत्सवमा बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री, समाजसेवी कुमार भण्डारी, बर्दिवास वर्ष व्यक्ति कृष्ण देवकोटालगायतले सह्राहनासमेत गरेका थिए । कतिपय सडक दुर्घटनामा हस्पिटलले घटनास्थलमै गई घाइतेको निःशुल्क सेवा दिएको प्रशंग कोट्याउदै उनीहरूले प्रशंसा गरेका हुन् ।

यस बाहेक यो हस्पिटलले सामाजिक उत्तरदायित्वका रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन अभियाननै सुरु गरेकामा पनि प्रशंसा कमाएको छ । हस्पिटलले गत एक वर्षमा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी १२ स्थानमा निःशुल्क स्वास्थय शिवर सञ्चालन गरिसकेको छ । यी १२ स्वास्थ्य शिविरबाट ६ हजारबढी महिला, बालबालिका र ज्येष्ठनागरिक लाभान्वित भएको स्मारिकामा उल्लेख छ ।