जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार ०९:३९

अनुहार बिनाको बच्चा जन्मेपछि…


काठमाडौं, कात्तिक ८

नाक, आँखा र टाउकोको भाग बिना नै एकजना बच्चा जन्मिएपछि प्रसुतीसम्बन्धी एकजना पोर्चुगलका डाक्टर निलम्बनमा परेका छन् । रोड्रिगो नामक शिशुका आमाबुवालाई यो महिनाको सुरुमा आफ्नो छोरा नजन्मिँदासम्म उसमा थुप्रै शारीरिक दुर्बलता होला भन्ने थाहै थिएन । हेलचक्य्राइँको आरोप लागेपछि प्रसुतीसम्बन्धी डाक्टर आर्तर कारभालोलाई निलम्बन गर्न त्यहाँको मेडिकल काउन्सिलका अधिकारीहरूले निर्णय गरेका थिए ।

यो घटना बाहिर आएपछि बच्चाहरूको उपचारमा भएका लापरबाहीबारे एक दशकभन्दा लामो समयदेखिका उजुरीहरू रहेको पनि खुलेको छ । पोर्चुगलका मिडियाहरूले पेस गरेका त्यस्ता उजुरीको विवरणले व्यापक रूपमा आक्रोश निम्त्याएको छ । डाक्टर कारभालोले आफूमाथिका कुनै पनि आरोपबारे सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका छैनन् ।

रोड्रिगोलाई के भएको थियो ?

राजधानी लिज्बनबाट ४० किलोमिटर दक्षिणमा पर्ने एक अस्पतालमा रोड्रिगोको ७ अक्टोबरमा जन्म भएको थियो । रोड्रिगोका आमाले गर्भवती भएका बेला डाक्टर कारभालोको निजी क्लिनिकमा तीनपटक अल्ट्रासाउण्ड गराएकी थिइन् । तर गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे डाक्टरले केही पनि भनेका थिएनन् ।

त्यसपछि रोड्रिगोकी आमाले आफू ६ महिनाको गर्भवती हुँदा चौथोपटक अर्कै क्लिनिकमा उच्चस्तरको ‘फाइभ डी’ अल्ट्रासाउण्ड गराएकी थिइन् । उक्त जाँचमा भने बच्चामा केही दुर्बलता हुनसक्ने विषय उठाइएको थियो । तर त्यसबारे डाक्टर कारभालोलाई सोध्दा उनले त्यसलाई त्यति ठूलो समस्या नभएको बताएका थिए ।

‘कतिपय बेला बच्चाको अनुहार आमाको कोखमा टाँसिने भएकोले अल्ट्रासाउण्डमा उनीहरूको अनुहार देखिँदैन भनेर उनले व्याख्या गरेका थिए’, रोड्रिगोकी काकीले एउटा स्थानीय सञ्चारमाध्यमलाई भनेको कुरा एएफपीले उद्धृत गरेको छ । पछि असामान्य स्वास्थ्य अवस्थासहित रोड्रिगो जन्मिने स्पष्ट भएपछि केही घन्टामात्रै उनी बाँच्ने बताइएको थियो । तर, दुईसाताभन्दा बढी भइसक्दा पनि अस्पतालको हेरचाहमा उनी जीवित नै छन् ।

उनका आमाबुवाले पोर्चुगलको अभियोजनकर्ताको कार्यालयमा डाक्टर कारभालोविरुद्ध उजुरी दिएको बताइएको छ । (बिबिसी)