जनता टाइम्स

५ माघ २०८१, शनिबार ०९:४१

अदालत परिसरमै वरिष्ठ अधिवक्तामाथि आक्रमण गरेको आरोपमा एकजना पक्राउ


काठमाडौं, पुस ५ । वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका १ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका ५ टीकाथली बस्ने ४८ वर्षीय ललित कुमार केसी रहेको प्रहरीले जनाएको छ । माघ २ गते बुधबार दिउँसो पौने ४ बजे काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर सार्वजनिक सडक खण्डमा सर्वसाधारणहरूको भिड रहेको अवस्थामा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो।

अदालतको दक्षिण गेट अगाडिको सडक खण्डमा जेबा क्रसिङबाट सडक पार गर्ने क्रममा उक्त भीडमा रहेका केही व्यक्तिहरूले हुलहुज्जत गरी आक्रमण गर्न खोजेकोमा तत्काल प्रहरी परिचालित भई वरिष्ठ अधिवक्ता त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा राखेको थियो।

आक्रमण गर्ने व्यक्तिहरूमध्ये केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका केसीमाथि ज्यान मार्ने उद्योगमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको सूचना अधिकारी अधिकारीले बताउनु भयो। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।