जनता टाइम्स

८ फाल्गुन २०८१, बिहीबार १४:०८

केआईआईटी विश्वविद्यालयको ज्याद्धतीबारे परराष्ट्रमन्त्री देउवा : माफी मागेर नेपाली विद्यार्थीलाई होस्टेल फर्काएको छ


काठमाडौं, फागुन ८ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालको मृत्यु र त्यसपछि भएको ज्याद्धतीको घटनाक्रमलाई नेपाल सरकारले निकै गम्भीर रुपमा लिएको बताउनु भएको छ ।

ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्कनु भएकी परराष्ट्रमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनमा गरी सरकार निकै गम्भीर रहेको बताउनु भयो । सो घटनालाई कूटनीतिक माध्यमबाट समाधान गरेको जानकारी पनि मन्त्री देउवाले दिनुभयो ।

उहाँले सो घटनाको बिषयमा बुधवार पनि आफूले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेर नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष छानविन, अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको जानकारी दिनुभयो ।

भारतीय मन्त्री सुरजले पनि उक्त घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराउनु भएको मन्त्री देउवाले बताउनु भयो ।

‘उक्त घटनापछि हामीले तत्कालै कूटनीतिक पहल सुरु गर्यौं। मृतकलाई न्याय र दोषीमाथि कारबाहीको माग त छँदैछ, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित पठनपाठनको व्यवस्थाका लागि सम्बद्ध निकायहरुबीच समन्वय गर्यौं । त्यसपछि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई होस्टेल फर्काएको छ भने दुर्ब्यवहार गर्ने कलेजका स्टाफलाई कारबाही गरेको छ,’ परराष्ट्रमन्त्री देउवाले भन्नुभयो ।

नेपाली विद्यार्थी मृत्युको घटनाको छानबिनका लागि ओडिसा सरकारले नै एक उच्चस्तरीय छानबिन समिति गठन गरिसकेकाले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग नेपालले गरेको छ । यस घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।