जनता टाइम्स

११ फाल्गुन २०८१, आईतवार ०८:५६

एमाले बागमतीको प्रदेशस्तरीय समृद्धिको योजना निर्माणका लागि कार्यशाला, यस्ता छन निष्कर्ष


काठमाडौं, फागुन ११ । नेकपा एमाले वाग्मती प्रदेश कमिटीले प्रदेश स्तरीय समृद्धिको योजना निर्माणका लागि कार्यशालाको आयोजना गरेको छ ।

शनिबार पार्टी मुख्यालय च्यासलमा वाग्मती प्रदेशको संवृद्धिका लागि एमालेद्वारा गठित कार्यदलले आयोजना गरिएको कार्यशाला एमाले प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षता र इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यशालालाई सम्बोधन गर्दै डा. भट्टराईले प्रदेश मातहत रहेका जिल्लाहरूबाट संवृद्धिका लागि स्पष्ट योजनाहरू निर्माण गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा बुद्धिजीवी परिषद्का अध्यक्ष एवम् वाग्मती प्रदेश सभा सदस्य दिनेशचन्द्र देवकोटाले वाग्मती प्रदेशको समृद्धिका बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा पार्टी उपसचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले नेकपा एमालेले अगाडि सारेको विकास र समृद्धिको योजनालाई सफल बनाउन जिल्ला तहमा दीर्घकालीन विकासका मोडेलहरूलाई छनोट गरी अगाडि बढाउन सजिलो होस् भनी कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

कार्यशालामा वाग्मती प्रदेश अन्तर्गत १३ जिल्लाका ५० जना भन्दा बढी नेता र विज्ञहरूको सहभागिता रहेको थियो । कार्यशालामा सहभागी नेताहरूले आफ्नो जिल्लाको विकास र समृद्धिको खाका तयार गर्ने बताइएको छ ।