काठमाडौं, २४ फागुन । कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’लाई केपी शर्मा ओलीको समर्थनमा प्रधानमन्त्री बनेकै दिन दुई महिनामा फालिदिने बताएको खुलासा गर्नुभएको छ । सरकारको अस्थिरताका कारण बनेका प्रचण्डलाई अब ओलीसँग मिलेर हामी सरकार बनाउँछौँ भनेर हिँडेको सिटौलाले झन्डै त्यही अवधिमा ओलीसँग सहमति भएको बताउनुभयो ।
शुक्रबार संसदीय मामिला पत्रकार समाजले राष्ट्रियसभाको औचित्यका विषयमा राखेको छलफलका क्रममा सिटौलाले यस्तो बताउनुभएको हो । उहाँले आफू राष्ट्रियसभाको अध्यक्ष बनाउन कर गरेका कारण राष्ट्रियसभा सदस्य लड्न तयार भएको भन्दै गठबन्धन टुटेपछि परिणाम अर्कै भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो , ‘म वीरगञ्जमा हुँदा नै गठबन्धन टुट्दै गरेको थाहा पाएँ । काठमाण्डू आएर उपप्रधानमन्त्री समेत रहेका पूर्णबहादुर खड्कालाई गठबन्धन टुट्नेबारे चासो राखे उहाँ कहाँ हुन्छ भन्नुहुन्छ ।
सोध्न जाउ भनेर प्रचण्डकोमा गयौँ, उहाँले होइन भन्नुभयो, ‘उहाँले होइन भनेको कुरा नै भयो । त्यसपछि रमेश लेखक (वतर्मान गृहमन्त्री) र म प्रचण्डकोमा गयौँ र हामी जे भन्छौँ त्यो गर्छौं भनेरै हिँड्यौँ । अब हामी ओलीसँग मिलेर सरकार बनाउँछौँ, तपाईंलाई दुई महिनामा प्रधानमन्त्रीबाट फालिदिन्छौँ ।’
उहाँले भनेको करिब त्यही अवधिमा ओलीसँग मिलेर सरकार बनाएको बताउनुभयो । यो विषय प्रचण्डसँग पनि सोध्न आग्रह गर्दै रातारात केही भएर सरकार परिवर्तनको हल्लाबाट प्रभावित नहुन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो , ‘प्रचण्डले कांग्रेसलाई धोका दिएपछि त्यसै दिनबाट नयाँ सरकारको अभ्यास सुरू भएको हो, रातारात के भयो भन्ने हल्ला बेकार भो हस्ताक्षर कहाँ भयो र कुन समयमा भयो भन्ने प्राविधिक कुरा मात्रै हो ।’
प्रतिक्रिया दिनुहोस्