जनता टाइम्स

१५ चैत्र २०८१, शुक्रबार १०:५२

हरिबंश आचार्यले सुनाए सफलतालाई दीर्घायु बनाउने सूत्र


काठमाडौं, चैत १५ । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत हुनुभएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा प्रस्तुत गर्दै आइरहनु भएको छ ।

सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई उहाँले गम्भीरतापूर्वक लिनुहुन्छ र नयाँ कलाकारझैँ मेहनत गरेर आफ्नो कर्म गर्नुहुन्छ । हालै आयोजना गरिएको एक अन्तरक्रियामा अभिनेता आचार्यले अनुशासनले सफलतालाई दीर्घायु बनाउने बताउनु भयो ।

आचार्यले भन्नुभयो, ‘चलचित्रमा अभिनय गर्दा होस वा प्रहसन गर्दा अहिले पनि मेरो मुटु ढुकढुक हुन्छ, मनमा डर उत्पन्न हुन्छ । त्यो डर भनेको मेरा लागि अनुशासन हो । त्यसले मलाई मेहनत गर्न प्रेरित गर्छ, त्यही कारण मेरो कलाकारिताको यात्रा यहाँसम्म आइपुगेको होजस्तो लाग्छ । स्वास्थ्य शरीर, शान्त मानसिक अवस्थासँगै आफ्नो सोच ३७ वर्षको युवाजस्तो भएका कारण काम गर्ने ऊर्जा उहाँलाई प्राप्त हुन्छ । नकारात्मकता आफूमा रहन नदिएकै कारण उहाँले गर्ने कर्मले कलाकारितासँगै समाजमा एउटा स्थान बनाएको छ । उहाँसँगै मह जोडीका म अर्थात् मदनकृष्ण श्रेष्ठ कलाकारितासँगै सामाजिक रूपमा समेत उच्च स्थान बनाउनुभएका कलाकार हुनुहुन्छ ।

रङ्गमञ्चमार्फत आफ्नो कलाकारिता सुरू गर्नुभएका अभिनेता आचार्यले नाटक नगर्नुभएको लामो समय भइसकेको छ । यद्यपि मञ्चमा गरिने प्रहसन र नाटक उस्तै भएको अभिनेता आचार्यले बताउनुभयो । ‘नाटक र प्रहसन उस्तै हो, खासै अन्तर छैन । किनकि दुवैमा दर्शकको अगाडि मञ्चमा कलाकारले आफूलाई प्रस्तुत गर्छन, मैले यसै वर्ष पनि केही प्रहसन गरेँ । त्यसकारण म आफूलाई नाटकबाट टाढा रहेको जस्तो लाग्दैन,’ उहाँले भन्नुभयो ।

उहाँले कला क्षेत्रका लागि रङ्गमञ्च आमाको काखझैँ भएकाले यहाँ सिकिने कलाकारिता दिगो हुने अनुभव सुनाउनु भयो । राष्ट्रिय नाचघरमा गुरु हरिप्रसाद रिमालसँग नाटक, कलाकारले बोल्ने संवादको शैली सिकेको स्मरण गर्दै अभिनेता आचार्यले अभिनयमा रूचि राख्नेले आफूलाई रङ्गमञ्चमा प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

‘मैले गुरु रिमालसँग आँखाले अभिनय गर्छ भन्ने सिकेँ, त्यहाँ मैले मदन दाइसँग गरेको नाटक विज्ञापनलाई नेपालसँगै विदेशमा समेत प्रस्तुत गरेँ । हामीले त्यो नेपालमा मात्र चार सयको हाराहारीमा मञ्चन गरेका थियौँ । हाम्रो अभिनयको सुरुआत नै रङ्गमञ्चबाट भएको हो,’ उहाँले भन्नुभयो ।

उहाँले अभिनय गर्नुभएको पहिलो चलचित्र ‘कुमारी’ हो । उक्त चलचित्रमा कलाकार चाहिएको सूचना गोरखापत्र दैनिकमा देख्नुभएपछि अभिनेता आचार्यले आफू अभिनय गर्न इच्छुक रहेको निवेदन दिनुभएको रहेछ । उक्त चलचित्रका निर्देशकको अगाडि एउटा चलचित्रको दृश्यलाई राम्रोसँग प्रस्तुत गरिएता पनि आफू उक्त भूमिकाका लागि छनोट नभएको अभिनेता आचार्यले बताउनुभयो ।

स–साना भूमिकामा देखिए पनि उहाँले ‘जीवनरेखा’ र ‘बासुदेव’ पछि राम्रो र बढी समय पर्दामा देखिने भूमिका प्राप्त गर्नुभयो । त्यसपछि अभिनयमा सक्रिय रहनुभएका अभिनेता आचार्यले अहिले पनि उस्तै रूपमा निरन्तर काम गरिरहनुभएको छ । आफैँ लेखक र निर्देशकसमेत रहनुभएका अभिनेता आचार्य अरुका चलचित्रमा कलाकारका काम गर्न रुचाउनुहुन्छ ।

‘अरुले निर्माण गर्नुभएको पात्रमा कलाकार भएर काम गर्न पाउँदा मलाई सहज महसुस हुन्छ, आफैँले लेखन वा निर्देशन गरेको पात्रलाई निर्वाह गर्दा अलि बढी मेहनत गर्नुपर्छ‘, उहाँले भन्नुभयो । उहाँले अभिनय गर्नुभएको चलचित्र ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ आउँदो वर्ष विसं २०८२ मा प्रदर्शन हुनेछ ।