काठमाडौं, चैत १६ । प्रहरी महानिरीक्षक (आइजीपी) दिपक थापाले जस्तोसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
प्रहरी मुख्यालयमा भर्चुअल माध्यमबाट देशभरका प्रहरी कमाण्डरलाई सम्बोधन गर्दै आइजीपी थापाले यस्तो निर्देशन दिनुभएको हो । उहाँले शान्ति सुव्यवस्था कायम राख्नु र जीउधनको सुरक्षा गर्नु प्रहरीको प्रमुख जिम्मेवारी भएको पनि सम्झाउनु भयो ।
आईजीपी थापाले आआफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने र आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीतिसँगै प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिनुभएको छ ।
आआफ्नो क्षेत्रहरूमा सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी काम गर्नुपर्नेमा उहाँको जोड थियो । अवैध हातहतियार ओसारपसार, विष्फोटक पदार्थ ओसारपसार, तस्करी एवं गुण्डागर्दीलगायतका अराजक गतिविधि नियन्त्रणमा प्रहरी निर्मम ढंगले अगाडि बढ्न पनि थापाले निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायतको भौतिक उपस्थिति थियो । साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालयहरू, प्रदेश कार्यालयहरू, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू एवं जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्