रामेछाप, चैत १७ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले मरिसकेको राजतन्त्रलाई फेरी ब्युँताउने सपना नदेख्न राजावादीलाई खुल्ला रूपमा चेतावनी दिनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगरपालिका कमिटीले शनिबार पुष्पलालको जन्मथलो रामेछापमा आयोजना गरेको तेस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गेलले विकास विरोधी नवराज सुवेदी जस्ता गनाउने सिद्रालाई बोकेर राजतन्त्र फिर्ता ल्याउने सपना नदेख्न चेतावनी दिनुभयो ।
‘रामेछापको विकास रोक्ने, रामेछापका जनतालाई भरियाको युगबाट बाहिर माथि उठ्न नदिने, विकास विरोधी नवराज सुवेदीलाई बोकेर पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र फर्काउने सपना नदेखे हुन्छ’, उहाँले भन्नुभयो ।
अबको लडाइँ राजावादी र गणतन्त्रवादीको अन्तिम लडाइँ भएको बताउँदै ढुङ्गेलले राजावादीको इँटाको जवाफ पत्थरले दिने चेतावनी दिनुभयो । ‘व्यक्तिको घर फोर्ने, पत्रकारलाई ज्युँदै जलाउने, पसल लुट्ने, रक्सी लुट्ने, फलफूले लुट्ने, यस्ता मान्छेलाई लिएर राजवादीहरू कता जाँदै छन् ?’ ढुङ्गेलले प्रश्न गर्नुभयो ।
‘पूर्वराजा ज्ञानेन्द्रले लुटेरा जम्मा गरेर हिसा र आतंक मच्चाए, पूर्वराजा ज्ञानेन्द्रलाई पूर्जी काटेर जेलमा हाल्नु पर्छ, त्यसका मतियार नवराज सुवेदीलाई गोलघरमा हाल्नु पर्छ, यो व्यवस्था भित्र बसेर यही व्यवस्थाको विरुद्ध लाग्ने राप्रपाका नेताहरूलाई जेल हाल्नु पर्छ, अराजक दुर्गा प्रसाईँलाई हतकडी लगाएर ल्याउनु पर्छ, यस्ता अराजकलाई थुन्ने काम हुनुपर्छ, यिनीहरुलाई थुनियाेस् सरकार’, उहाँले भन्नुभयो ।
ढुङ्गेलले राजनीति गर्न सजिलो भए पनि टिक्न गाह्रो भएको बताउनुभयाे । समाजवादको बाटो सुखको बाटा नभएको ढुंगेलले स्पष्ट पार्नुभयो । रक्सी खाएर लरबराएर हिँड्ने मानिस समाजवादको बाटोमा हिँड्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी नेकपा एमाले नै भएको बताउँदै एमालेलाई सीरमा बोकेर हिँड्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
एमालेले मात्र समृद्ध नेपाल निर्माण गर्न सक्ने बताउँदै उहाँले अन्य दलबाट त्यो कल्पना नगर्न आग्रह गर्नुभयो । ढुङ्गेलले समाजवादको बाटोमा अघि बढ्न मिसन २०८४ लाई सफल बनाउने प्रतिबद्धता आउनु पर्ने बताउनुभयो । त्यो प्रतिबद्धता भनेको नेकपा एमालेको एकल बहुमतको सरकारको लागि युवा परिचालन भएको उहाँले स्पष्ट पार्नुभयो ।
वाग्मती प्रदेश कमिटी सदस्य प्रेम तामाङले हिजोको घटना अराजक तत्त्वले टाउको उठाउने घटना भएको बताउनुभयो ।हिजोको प्रदर्शन राजनीतिक प्रदर्शन नभएर हिंसात्मक भएको तामाङले स्पष्ट पार्नुभयो । दुर्गा प्रसाईँ जस्ता ठगलाई बोकेर पूर्वराजले समाजलाई आतङ्कित बनाउने काम गरेको उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै पार्टी वाग्मती प्रदेश कमिटी सदस्य सिता खत्रीले देशमा अराजकता बढ्दै गएको बताउँदै त्यसबाट युवालाई जोगाएर अघि बढाउनु पर्नेमा जोड दिनुभयाे । उहाँले पूर्वराजाका समर्थकहरूको आन्दोलनमा भएको हिंसात्मक घटनाको निन्दा गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले एमाले र त्यसका जनसंगठनलाई आफ्नो शक्तिमा विश्वास गर्न आग्रह गर्नुभयाे। ‘आफ्नो शक्ति माथि विश्वास गरौँ, एमालले आफ्नै शक्ति माथि विश्वास नगर्दा मात्र पराजय भोग्नु पर्ने हो, एक भएर लाग्दा र आफ्नो शक्तिमा विश्वास गर्दा एमालेलाई कसैले पनि हराउन सक्दैन’, उहाँले भन्नुभयाे ।
प्रतिक्रिया दिनुहोस्